काठमाडौं– लगातार वर्षापछि देशभर जल उत्पन्न विपद्का जोखिम उच्च रहेको चेतावनी सार्वजनिक भएको छ ।
जल तथा मौसम विज्ञान विभागले कोशी, मधेस, वागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अझै केही दिन भारी वर्षाको सम्भावना रहेको औंल्याएको छ ।
वर्षासँगै बाढी, पहिरो र डुबानजस्ता विपद्का घटना बढ्ने र जनधनको क्षति हुन सक्ने भन्दै सरकारी निकायहरूले सतर्क रहन सबैलाई अनुरोध गरेका छन् ।
नदी तथा खोला तटीय क्षेत्र आसपास बसोबास गर्ने र स्थलमार्ग प्रयोग गर्ने यात्रुहरूले विशेष सावधानी अपनाउनुपर्ने चेतावनी जारी गरिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डोल प्रसाद अर्यालले विज्ञप्तिमार्फत् सम्भावित विपद्का घटनाहरूको न्यूनीकरण, घटनापछिको खोज–उद्धार, घाइतेको उपचार, प्रभावितको व्यवस्थापन, राहत वितरण र अन्य मानवीय सहयोगका कार्यहरूमा सबै तहका समिति, विभाग, सदस्य तथा शुभेच्छुकहरूलाई सक्रिय हुन आह्वान गरेका छन् ।
उनले केन्द्रीय, प्रादेशिक, जिल्ला र पालिका तहसम्म द्रुत कार्य समूहसहित समन्वय गरी काम गर्नुपर्नेमा जोड दिएका छन् ।
अर्यालले सबैमा सुरक्षा अपनाउँदै अरूलाई सुरक्षित रहन सघाउन हार्दिक अनुरोध समेत गरेका छन् ।






















