काठमाडौं– नेपाली सेनाले मनसुनजन्य विपद् व्यवस्थापनका लागि २ सय ३७ जना विशेष तालिम प्राप्त उद्धारकर्मी परिचालन गरेको छ ।
सेनाका रथी विष्णुकुमार खड्काका अनुसार, देशका ७७ वटै जिल्लामा तैनाथ ९४ वटा गणहरू मार्फत एक-एक गुल्म र ५८ वटै गुल्महरूमा स्ट्यान्डबाइ फौजलाई आधारभूत उद्धार सामग्रीसहित तयारी अवस्थामा राखिएको छ ।
उद्धार कार्य छिटो र प्रभावकारी बनाउन २७ स्थानमा २ सय ३७ जना तालिम प्राप्त उद्धारकर्मी आफ्ना इक्विपमेन्टसहित अग्रिम तैनाथ गरिएको उनले बताए ।
साथै, सुर्खेत र इटहरीमा प्रत्येकमा एक-एक हेलिकप्टर राखेर उद्धार कार्यलाई तीव्रता दिइएको जानकारी दिइयो ।
ज्येष्ठ अधिकृतहरूले खबर सङ्कलनदेखि अन्य सुरक्षा निकाय र स्थानीय तहसँगको समन्वयसम्म सहज बनाउन आवश्यक व्यवस्था मिलाएको खड्काले बताए ।
उनले डुबान प्रभावित क्षेत्रका बस्तीहरू सुरक्षित स्थानमा स्थानान्तरण गर्ने काम संयुक्त प्रयासमा भइरहेको पनि स्पष्ट पारे ।






















