images
images
  • यी स्थानमा अझै रोकिएन भीषण वर्षा

    काठमाडौं– जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले देशका अधिकांश जिल्लामा भारी वर्षा रोकिएको छ ।

    काठमाडौं उपत्यकामा आइतबार बिहानदेखि पानी परेको छैन, तर केही स्थानमा हल्का वर्षा भइरहेको विभागले जनाएको छ ।

    पछिल्लो एक घण्टामा ललितपुरको खुमलटारमा ३.६ मिलिमिटर वर्षा मापन भएको छ ।

    काठमाडौं, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिराहा, धनुषा, सर्लाही, सिन्धुली र रामेछापका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

    यसबीच बर्खामै सुख्खा परेको मधेस प्रदेशमा भने पछिल्ला २४ घण्टामा भीषण वर्षा भएको छ ।

    रौतहटको महेशपुरमा ३३८.६ मिलिमिटर, इलामको हिमाली गाउँ केन्द्रमा ३३४.२ मिलिमिटर, रौतहटकै गौरमा ३०७.६ मिलिमिटर र गरूडामा २९३.६ मिलिमिटर वर्षा मापन भएको विभागले जनाएको छ ।

    विभागका मेटेरियोलोजिस्ट सुदर्शन हुमागाईंका अनुसार मधेसमा यसअघि पनि यस्तै अनुपातमा वर्षा भएको र अहिलेको वर्षाबारे थप अध्ययन भइरहेको छ ।

    मनसुनको सुरुवातमा मधेसमा रोपाइँ हुन नसकेको र खानेपानीको हाहाकार भए पनि पछिल्लो वर्षाले त्यस क्षेत्रका धेरै ठाउँ भिजाएको छ ।

    काठमाडौं उपत्यकामा भने अति भारी वर्षा भएको छैन ।

    ललितपुरको लेलेमा १६९.२, गोदावरीमा १६२.२ र काठमाडौंको सुन्दरीजलमा १५०.२ मिलिमिटर वर्षा मापन गरिएको विभागले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images