
एजेन्सी– पछिल्ला दिनहरूमा मोरक्कोका विभिन्न सहरमा युवाले नेतृत्व गरेको विरोध प्रदर्शन तीव्र बन्दै गएको छ ।
अघिल्लो रात प्रहरीको गोली लागेर तीन जनाको मृत्यु भएपछि हिंसा बढ्ने आशंका रहे पनि बिहीबार पनि दर्जनौँ सहरमा आन्दोलन जारी रह्यो ।
प्रदर्शनकारीले गुणस्तरीय विद्यालय, अस्पतालको माग गर्दै प्रधानमन्त्री अजिज अखान्नोचको राजीनामा मागेका छन् ।
केही स्थानमा बैंक लुट, गाडीमा आगजनी र सार्वजनिक सम्पत्तिको तोडफोड भएको छ ।
सरकारले भिडन्तमा तीन युवाको मृत्यु भएको र ३५४ जना घाइते भएको जनाएको छ ।
‘जनरेशन जेड २१२’ नामक समूहले सामाजिक सञ्जालमार्फत आन्दोलन सञ्चालन गरेको हो ।
उनीहरूको नारा– “स्वास्थ्य सेवा पहिले, विश्वकप चाहिँदैन” र “स्टेडियम छन्, अस्पताल कहाँ छन् ?” चर्चित बनेको छ ।
गृह मन्त्रालयले एक हजारभन्दा बढीलाई पक्राउ गरिएको जनाएको छ, जसमा धेरै नाबालिग छन्। मानवअधिकार निकायहरूले यसलाई दमनकारी कार्य भनेका छन् ।
विशेषज्ञहरूका अनुसार मोरक्कोको यो आन्दोलन पनि नेपाल, केन्या र मेडागास्करमा देखिएका युवानिर्देशित आन्दोलनसँग मिल्दोजुल्दो छ, जसको केन्द्रमा भ्रष्टाचारविरुद्धको असन्तोष र आधारभूत सेवाको माग छ ।
प्रतिक्रिया दिनुहोस्