काठमाडौं- रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाले युक्रेनलाई लामो दुरीका मिसाइल उपलब्ध गराएमा मस्को-वासिंगटन सम्बन्धमा गम्भीर असर पर्ने चेतावनी दिएका छन् ।
उनले यस्ता हतियारले युद्धको नतिजा नबदल्ने दाबी गर्दै रूसी सेना ढिलो भए पनि निरन्तर अगाडि बढिरहेको बताएका छन् ।
पुटिनका अनुसार, यदि अमेरिकाले टमहक क्रुज मिसाइल किभलाई दिए, यो रूस–अमेरिका सम्बन्धमा तनावको खतरनाक चरण हुनेछ ।
उनले रूसी वायु रक्षा प्रणालीले यस्तो खतरालाई छिट्टै निष्प्रभावी बनाउन सक्ने र युद्धमैदानमा ठूलो प्रभाव नपार्ने बताए ।
यसैबीच, उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशंसा गर्दै अलास्कामा गत अगस्टमा भएको भेटलाई ‘फलदायी’ भनेका छन् ।
सो वार्ताले युक्रेन संकट समाधानतर्फ सकारात्मक पहल गरेको उनको भनाइ छ ।
पश्चिमा मुलुकलाई चेतावनी दिँदै पुटिनले रूसी तेल बोकेका जहाज रोक्ने प्रयास ‘समुद्री डकैती’ हुने उल्लेख गरे ।
फ्रान्सले हालै एक तेल ट्यांकर रोकेको घटनालाई उनले राष्ट्रपति म्याक्रोंको आन्तरिक समस्याबाट ध्यान हटाउने चाल भने ।
यस्तै, अमेरिकी रुढीवादी नेता चार्ली कर्कको हत्या गम्भीर अपराध भएको उल्लेख गर्दै पुटिनले यसले अमेरिकी समाजभित्र गहिरो विभाजन देखाएको बताए ।
उनले २०२४ मा युक्रेन युद्धमा मारिएका माइकल ग्लसको पनि प्रशंसा गर्दै उनलाई मरणोपरान्त दिइएको वीरता पदक ट्रम्पका दूतमार्फत हस्तान्तरण गरिएको जानकारी दिए ।


विश्व खबर 




















