काठमाडौं- गाजाको युद्ध अन्त्य गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको शान्ति योजनामा सकारात्मक प्रतिक्रिया दिन कतार, इजिप्ट र टर्कीले हमासलाई दबाब दिइरहेका छन् ।
वार्तासम्बन्धी जानकार स्रोतका अनुसार यी तीन देशका अधिकारीले पछिल्लो २४ घण्टाभित्र दुईपटक हमास नेतासँग भेट गरी योजना बुझाएका छन् ।
कतार, इजिप्ट र टर्की हमाससँग सबैभन्दा नजिकका मध्यस्थ मानिन्छन् र उनीहरूको मुख्य भूमिका हमास, इजरायल र अमेरिकाबीच सन्देश आदानप्रदान गर्नु हो ।
ट्रम्पले मंगलबार हमासलाई तीनदेखि चार दिनभित्र प्रतिक्रिया दिन समय दिएको घोषणा गरेका थिए ।
अमेरिकी र इजरायली अधिकारीले हमासले केही शर्तसहित सकारात्मक जवाफ दिने अपेक्षा व्यक्त गरेका छन् ।
जानकारी अनुसार सोमबार राति ट्रम्पले विश्वसामु योजना प्रस्तुत गर्दा कतारका प्रधानमन्त्री मोहम्मद बिन अब्दुलरहमान अल–थानी र इजिप्टका गुप्तचर प्रमुख हसन रशादले दोहामा हमास नेतासँग भेटेर सो प्रस्ताव बुझाएका थिए ।
अल–थानीले यसलाई हमासका लागि ‘सबैभन्दा राम्रो अवसर’ भन्दै अस्वीकार नगर्न चेतावनी दिएका थिए ।
हमास नेताले भने प्रस्तावलाई गम्भीरतापूर्वक अध्ययन गर्ने प्रतिबद्धता जनाएका थिए ।
मंगलबार दोहामा भएको दोस्रो भेटमा टर्कीका गुप्तचर निर्देशक इब्राहिम कालिन पनि सहभागी भएका थिए ।


विश्व खबर 




















