काठमाडौं- हमासका एक वरिष्ठ नेताले अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको गाजाका लागि प्रस्तावित शान्ति योजनाले इजरायलको स्वार्थ मात्र पूरा गर्ने र प्यालेस्टाइनी जनताको हित बेवास्ता गर्ने बताएका छन् ।
उनका अनुसार योजनामा हमासले हतियार त्याग्नुपर्ने मुख्य सर्त स्वीकृत गर्ने सम्भावना न्यून छ ।
गाजामा अन्तर्राष्ट्रिय स्थिरीकरण बल तैनाथ गर्ने प्रस्तावप्रति पनि हमास असहमत छ ।
सोमबार वाशिङ्टनस्थित ह्वाइट हाउसमा भएको वार्तामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले ट्रम्पको योजना स्वीकार गरेका थिए ।
तर हमासले आधिकारिक प्रतिक्रिया भने दिएको छैन । कतारले भने उक्त प्रस्तावलाई हमास जिम्मेवारीपूर्वक अध्ययन गरिरहेको जनाएको छ ।
बीबीसीलाई उद्धृत गर्दै एक वरिष्ठ प्यालेस्टाइनी अधिकारीले गाजाभित्र र बाहिर दुवै नेताहरू छलफलमा संलग्न भएको जानकारी दिएका छन् ।
तर गाजास्थित सैन्य कमाण्डर इज अल–दिन अल–हद्दाद योजना अस्वीकार गर्दै संघर्ष जारी राख्ने पक्षमा रहेको जनाइएको छ ।
गाजाबाहिरका नेताहरू भने छलफलमा आफूलाई बेवास्ता गरिएको महसुस गरिरहेका छन् ।


विश्व खबर 




















