काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सार्वजनिक गरेको २० बुँदे युद्धविराम योजनाले गाजामा हमासकै नियन्त्रणमा रहेका सबै बन्दीहरूको अवस्था ७२ घण्टाभित्र सार्वजनिक गर्नुपर्ने प्रावधान राखेको छ ।
यसले नेपालका विपिन जोशीसहित सबैको अवस्थाबारे नजिकबाट थाहा पाउने सम्भावना बढाएको छ ।
ट्रम्पको योजनाअनुसार हमासले सबै इजरायली बन्दीहरू (जिउँदा वा मृत) तत्काल छोड्नुपर्नेछ ।
बदलामा इजरायलले २५० आजीवन कैदी र १७०० अन्य कैदीलाई मुक्त गर्ने, साथै मृत इजरायली बन्दीको सट्टा १५ गाजावासी शव फिर्ता गर्ने उल्लेख छ ।
यसअघि हमासले ४८ जना इजरायली बन्दीहरूको समूह तस्वीर सार्वजनिक गर्दा विपिनको तस्वीर पनि देखिएको थियो, जसले उनको अवस्थाबारे चिन्ता बढाएको थियो ।
ट्रम्पले योजनाको सफल कार्यान्वयनले युद्ध अन्त्य, बन्दी मुक्ति र गाजा शान्तिकरणको बाटो खोल्ने बताए पनि, हमासले अझै औपचारिक प्रतिक्रिया नदिएको र हतियार नत्याग्ने स्पष्ट पारेको छ ।
यसैले विपिनसहितका सबै बन्दीहरूको भविष्य अझै अनिश्चित छ ।






















