images
images
  • इजरायल–गाजा युद्ध अन्त्यका लागि ट्रम्पको २१ बुँदे शान्ति प्रस्तावमा के छ ? (प्रस्तावसहित)

    काठमाडौं– गाजामा युद्ध अन्त्य गर्न र भविष्यमा प्यालेस्टिनी राज्यको बाटो खोल्ने उद्देश्यसहित अमेरिकाले २१ बुँदे शान्ति योजना प्रस्तुत गरेको छ ।

    योजनाअनुसार इजरायलले गाजाबाट सेना फिर्ता गर्नुपर्नेछ भने हमासले पूर्ण रूपमा निशस्त्रीकरण गर्नुपर्नेछ ।

    यसमा सबै बन्धकको रिहाइ, गाजाको पुनर्निर्माण र त्यहाँका बासिन्दालाई विस्थापित नगर्ने विषय पनि समावेश छन् ।

    यो प्रस्ताव अमेरिकाले यसै हप्ता संयुक्त राष्ट्र महासभामा केही अरब तथा मुस्लिम देशहरूसँग साझा गरेको हो ।

    गाजाका बासिन्दालाई त्यहीँ बस्न प्रोत्साहित गरिएकोले यसलाई अमेरिकी नीतिमा ठूलो परिवर्तन मानिएको छ ।

    किनभने गत फेब्रुअरीमा तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाका करिब २० लाख मानिसलाई स्थायी रूपमा अन्यत्र बसाल्ने विचार व्यक्त गरेका थिए ।

    योजनामा भविष्यको प्यालेस्टिनी राज्यको सम्भावना पनि जोडिएको छ, जुन ट्रम्प प्रशासनको अघिल्लो नीति विपरीत हो ।

    प्रस्तावले इजरायललाई हमासको पूर्ण निरस्त्रीकरण, गाजालाई आतंकमुक्त क्षेत्रमा बदल्ने र चरमपन्थी विचारधाराबाट त्यहाँका बासिन्दालाई टाढा राख्ने अवसर दिने बताइएको छ ।

    तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यसलाई अस्वीकार गरेका छन् ।

    उनले संयुक्त राष्ट्र महासभामा भने, “अक्टोबर ७ को आक्रमणपछि जेरुसेलम नजिक प्यालेस्टिनी राज्य बनाउनु भनेको ९/११ पछि न्युयोर्क नजिक अल–कायदाको राज्य बनाउनुजस्तै हो । यो पूर्ण पागलपन हो, हामी कहिल्यै स्वीकार गर्ने छैनौँ ।”

    विरोधका बीच पनि ट्रम्पले आशा व्यक्त गर्दै सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखे, “चार दिनदेखि गहन वार्ता भइरहेको छ र ठोस सहमति नभएसम्म जारी रहनेछ । सबै क्षेत्रीय देशहरू सहभागी छन्, हमासलाई जानकारी दिइएको छ र इजरायललाई पनि प्रत्येक स्तरमा सूचित गरिएको छ ।”

    ट्रम्पको २१ बुँदे शान्ति प्रस्तावमा के छ ?

    १. गाजालाई आतंक मुक्त क्षेत्र बनाइनेछ, ताकि यो छिमेकी देशहरूका लागि खतरा नबनोस् ।

    २. गाजाको पुनर्निर्माण र विकास कार्य सुरु हुनेछ, जसले त्यहाँका मानिसहरूको जीवनस्तर सुधार गर्नेछ ।

    ३. दुवै पक्षले यो योजना स्वीकार गरेलगत्तै, इजरायलले तुरन्त सैन्य अभियान रोक्नेछ र चरणबद्धरूपमा गाजाबाट सेना हटाउनेछ ।

    ४. इजरायलले सार्वजनिक रूपमा योजना स्वीकार गरेको ४८ घण्टाभित्र सबै बन्धकहरूलाई रिहा गरिनेछ ।

    ५. बन्धकहरूको रिहाइपछि इजरायलले सयौँ प्यालेस्टिनी कैदीहरू, १००० भन्दा बढी हिरासतमा लिएका गाजावासीहरू र प्यालेस्टिनीहरूको शव फिर्ता गर्नेछ ।

    ६. शान्तिपूर्णरूपमा सँगै बस्ने शपथ लिने हमास सदस्यहरूलाई माफी दिइनेछ । बाहिर जान चाहनेहरूलाई सुरक्षित बाटो र कुनै इच्छुक देशमा बस्ने सुविधा उपलब्ध हुनेछ ।

    ७. सम्झौतापछि गाजामा मानवीय सहायता ठूलो मात्रामा पठाइनेछ । दैनिक कम्तीमा ६०० ट्रक राहत सामग्री पुग्नेछन् ।

    ८. सहायता सामग्रीको वितरण संयुक्त राष्ट्र संघ र रेड क्रिसन्टजस्ता अन्तर्राष्ट्रिय संस्थामार्फत गरिनेछ ।

    ९. गाजाको प्रशासन प्यालेस्टिनी प्राविधिक विशेषज्ञहरूको हातमा हुनेछ, जसलाई एक अन्तर्राष्ट्रिय समितिले निगरानी गर्नेछ ।

    १०. गाजाका लागि एक आर्थिक पुनर्निर्माण योजना बनाइनेछ, जसबाट लगानी र रोजगारीका अवसर सिर्जना हुनेछन् ।

    ११. गाजामा विशेष आर्थिक क्षेत्र स्थापित हुनेछ, जहाँ करमा छुट र व्यापारिक सुविधा दिइनेछन् ।

    १२. कुनै पनि बासिन्दालाई गाजा छोड्न बाध्य पारिने छैन । जो बाहिर गएका छन्, उनीहरूलाई फिर्ता आउने अधिकार हुनेछ ।

    १३. गाजाको शासन व्यवस्थामा हमासलाई कुनै भूमिका दिइने छैन र सबै आतंकी सुरुङहरू र सैन्य संरचनाहरू नष्ट गरिनेछन् ।
    १४. क्षेत्रीय देशहरूले हमास र अन्य समूहहरूले सम्झौताको पालना गरेको सुनिश्चित गर्नेछन् ।

    १५. अमेरिका र उसका सहयोगी देशहरूको मद्दतले अस्थायी सुरक्षा बल गाजामा तैनाथ हुनेछन् । यी बलहरूले सुरक्षा र स्थानीय पुलिसलाई तालिम दिनेछन् ।

    १६. इजरायलले गाजालाई विलय र स्थायी कब्जा गर्ने छैन ।

    १७. यदि हमासले प्रस्ताव मान्न ढिलाइ गरेमा यो योजना पहिले आतंकमुक्त क्षेत्रमा लागु हुनेछ ।

    १८. इजरायलले कतारमाथि हमला गर्ने छैन र अन्तर्राष्ट्रिय समुदायले गाजा संकटमा कतारको मध्यस्थताको भूमिकालाई मान्यता दिनेछ ।

    १९. गाजाका मानिसहरूलाई उग्रवादी कामबाट टाढा राख्नका लागि धार्मिक र सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गरिनेछन् ।

    २०. जब गाजाको पुनर्निर्माण र प्यालेस्टिनी प्राधिकरणको सुधार कार्यक्रम पूरा हुनेछ, तब भविष्यमा प्यालेस्टिनी राज्यको बाटो खुल्न सक्छ ।

    २१. अमेरिकाले इजरायल र प्यालेस्टाइनबीच लामो समयसम्मको राजनीतिक समाधानमा वार्तालाई अगाडि बढाउनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images