काठमाडौं– नेकपा (माओवादी केन्द्र)का उपमहासचिव हरिबोल गजुरेलले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विकल्प नभएको बताएका छन् ।
पार्टीको जारी केन्द्रीय समितिको बैठकमा गजुरेलले सडकमा आवाज उठ्दैमा नेतृत्व परिवर्तन नहुने बताए ।
पार्टीभित्र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव जनार्दन शर्मा र सचिव राम कार्कीले फरक मत राखेपछि गजुरेल प्रचण्डको पक्षमा उभिएका हुन् ।
गजुरेलले प्रचण्डको पक्षमा अडान राखेसँगै जेन–जी आन्दोलनलाई समर्थन गरेर जानुपर्ने मत पनि राखेका छन् ।
जेन–जी आन्दोलनलाई विकृति र विसंगतिको विरुद्ध युवाहरूले गरेको स्वतःस्फूर्त विद्रोहका रूपमा व्याख्या गरेर गजुरेलले पार्टीले दृढतापूर्वक समर्थन गरेर जानुपर्ने तर्क गरेका हुन् ।
त्यसो त, गजुरेलले आन्दोलनपछिको परिस्थितिलाई शक्ति केन्द्रले प्रयोग गर्न खोजेको भन्दै सचेत हुन पनि आग्रह गरेका छन् ।
बैठकमा आफ्नो धारणा राख्ने क्रममा गजुरेलले भने, ‘हामीले पहिलो दिनदेखि नै ऐक्यबद्धता जनाउनुपर्ने थियो । पछि भए पनि हामीले दमन र नरसंहारको विरोध गर्याैं, ओलीको राजीनामा माग्यौँ । त्यसकारण हामी आन्दोलनकारी शक्ति हौँ ।’
अध्यक्ष प्रचण्डको बचाउमा उभिएका गजुरेलले पार्टी नेतृत्व सडकबाट नभएर पार्टीभित्रको प्रश्न भएको र छलफल र महाधिवेशनबाट मात्र नेतृत्वको कुरा टुंगिने बताए ।
उनले भने, ‘विशेष महाधिवेशनलाई नै उचित बाटो बताउँदै पार्टीमा विचार र कार्यदिशा अद्यावधिक गर्ने अवसरको रूपमा लिनुपर्नेछ ।’






















