images
images
  • पाकिस्तानी सेनाले खसाल्यो आफ्नै नागरिकमाथि बम, ३० जनाको मृत्यु

    काठमाडौं– पाकिस्तानको वायुसेनाले आफ्नै देशका नागरिकमाथि बम प्रहार गरेको छ ।

    खैबर पख्तुनख्वा प्रान्तमा पाकिस्तानी वायुसेनाले हवाई हमला गर्दा महिला र बालबालिकासहित कम्तीमा ३० जनाको मृत्यु भएको जनाइएको छ ।

    यो घटना सोमबार बिहान करिब २ बजेको हो । त्यसक्रममा पाकिस्तानी लडाकु विमानले तिराह उपत्यकाको मत्रेदारा गाउँमा आठ बम खसालेको थियो । त्यसबाट गाउँ र वरपरको क्षेत्रमा ठूलो विनाश भएको छ ।

    एलएस–६ श्रेणीका उक्त विनाशकारी बम चिनियाँ जे–१७ लडाकु विमानबाट खसालिएको थियो । मारिने सबै सर्वसाधारण रहेका जनाइएको छ ।

    यसबारे पाकिस्तान सरकारका तर्फबाट हालसम्म कुनै आधिकारिक भनाइ सार्वजनिक भएको छ । बमबारीमा २० भन्दा बढी मानिस घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

    स्थानीय बासिन्दाका अनुसार, गाउँका मानिस सुतिरहेका बेला विस्फोटको ठूलो आवाजले उनीहरू ब्युँझिएका थिए । बमबारीबाट गाउँको ठूलो भाग ध्वस्त भएको जनाइएको छ ।

    स्थानीय सञ्चारमाध्यमको रिपोर्टमा घटनास्थलका विचलित पार्ने तस्बिर र भिडियोमा बालबालिकासहित धेरै मानिसको शव त्यहीँ छरपस्ट देखिएको छ । मृतकको संख्या अझ बढ्ने आशंका गरिएको छ ।

    खैबर पख्तुनख्वामा यसअघि पनि धेरै आतंकवादविरोधी अभियान चलाइएको छ ।

    घाइतेलाई उपचारका निम्ति नजिकैको अस्पतालमा भर्ना गरिएको र धेरै मानिस बेपत्ता रहेका जनाइएको छ ।

    खैबर पख्तुनख्वा इलाका लामो समयदेखि अशान्त रहँदै आएको छ । त्यहाँ पाक सरकारले शासन चलाउन गाह्रो छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images