images
images
  • कुलमानले भने– राजीनामा दिनू, दिन्नँ– हितेन्द्रदेव शाक्य

    काठमाडौं– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ऊर्जामन्त्री कुलमान घिसिङको निर्देशनअनुसार काम गर्ने बताएका छन् ।

    मन्त्री घिसिङले जेन–जी आन्दोलनको म्यान्डेटअनुसार छाडेर जान दबाब दिइरहेका बेला शाक्य भने तत्काल राजीनामा नदिने पक्षमा छन् ।

    घिसिङले पदभार सम्हाल्नेबित्तिकै डेडिकेटेड र ट्रंकलाइनको वक्यौता उठाउने निर्णय गरेका थिए ।

    सोही अनुसार शाक्यले अब बोर्ड बैठक बोलाएर उद्योगी–व्यवसायीले तिर्न बाँकी करिब २५ अर्ब रुपैयाँ उठाउने तयारी गरेका छन् ।

    ‘वक्यौतासम्बन्धी मन्त्रीज्यूको निर्णयलाई बोर्डबाट पास गरेर कार्यान्वयनमा लैजानेछौं,’ शाक्यले बताए ।

    यसअघि घिसिङ प्राधिकरण प्रमुख रहँदा वक्यौता नतिरेका उद्योगीको लाइन काटिएको थियो, तर तत्कालीन प्रधानमन्त्री ओलीले पुनः जडान गर्न निर्देशन दिएका थिए ।

    सामाजिक सञ्जालमार्फत शाक्यले हालको संकटमा जिम्मेवारी छोडेर होइन, अझै कडा मेहनत गरेर अघि बढ्ने बताएका छन् ।

    ‘देश जलेको छ, मल्हमपट्टी गर्नुपर्ने बेला हो, धोका दिनेछैन,’ उनले लेखेका छन् ।

    उनले जेन–जी आन्दोलनमा आफ्नै घर र सम्पत्ति आक्रोशमा नष्ट भए पनि प्राधिकरणप्रति आफ्नो इमानदारी कायम रहेको उल्लेख गर्दै आवश्यकता परे २४ घण्टा कार्यालयमै खटिन तयार रहेको जनाएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images