काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले जेनजी आन्दोलनपछि संसद् विघटन, संविधान खारेज र राष्ट्रपतिको पद नै हटाउने प्रयास भएको दाबी गरेका छन् ।
संविधान दिवसको अवसरमा पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनका अनुसार, उक्त संकटपूर्ण समयमा आफूले राष्ट्रपति, सेनापति र नेताहरूसँग रातभर छलफल गरी संविधान जोगाउन आग्रह गरेका थिए ।
अन्तरिम सरकारमार्फत संविधानलाई जोगाउन भूमिका खेल्दा राष्ट्रपति रामचन्द्र पौडेल र सेनापतिको भूमिकाप्रति उनले धन्यवाद प्रकट गरे ।
प्रचण्डले जेनजीले उठाएका मागहरू आफूहरूले दशकअघि नै उठाएको दाबी गर्दै अहिले युवाले आन्दोलन गर्नुपरेको परिस्थितिलाई दुःखद बताए ।
ठूला दलको अहंकारले नै देश आजको अवस्थामा पुगेको भन्दै उनले जनआक्रोश अझ बढ्ने चेतावनी दिए ।
उनले माओवादी पार्टी नै जेनजी आन्दोलनका मागप्रति स्पष्ट समर्थन जनाउने पहिलो शक्ति भएको जिकिर गर्दै, भदौ २३ गते नै प्रधानमन्त्रीलाई राजीनामाको माग गरेको तर नसुनेका कारण अर्को दिन ठूलो घटना भएको स्मरण गरे ।
‘हामीले सही बाटो रोजेका थियौँ, ऐतिहासिक विद्रोहमार्फत सबै वर्गलाई अधिकार दिलाएका थियौँ,’ भन्दै प्रचण्डले अगाडि बढ्न आह्वान गरे ।
संविधान निर्माणका बेला आएका दबाब र धम्कीलाई सामना गरेर संविधान घोषणा गर्न भूमिका खेलेको अनुभव पनि उनले सुनाए ।






















