काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले वर्तमान राजनीतिक व्यवस्था असफल भएको आफ्नो अघिल्लो दाबीलाई जेन–जी आन्दोलनले थप पुष्टि गरेको निष्कर्ष निकालेको छ ।
बिहीबार पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकपछि प्रवक्ता मोहनकुमार श्रेष्ठले बताएअनुसार, पार्टीले धेरैअघि नै वर्तमान नेतृत्व र यसको व्यवस्था असफल हुने चेतावनी दिएको भए पनि पछिल्लो जनआन्दोलनले त्यसलाई अझ स्पष्ट बनाएको छ ।
बैठकले अहिलेकै संविधानमार्फत मुलुकलाई अघि बढाउन खोज्नु पुनः असफलताको दिशातर्फ धकेल्नु भएको ठहर गरेको छ ।
राप्रपाले भन्यो, “अब भविष्यमा थप जनधनको क्षति रोक्न, मुलुकलाई दीर्घकालीन द्वन्द्वमा फस्न नदिन, भूराजनीतिक चक्रव्यूह र वैदेशिक हस्तक्षेपबाट जोगाउन तथा नेपालको निर्णायक शक्ति नेपाली जनताको हातमा नै राख्न सबै राजनीतिक शक्तिबीच नयाँ समझदारी अपरिहार्य छ ।”






















