काठमाडौं– संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले दस वर्ष पूरा गरेको अवसरमा पूर्वप्रधानमन्त्रीले जेन–जी आन्दोलनका शहिद युवाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै संविधानको निरन्तरता र लोकतन्त्रको रक्षा आवश्यक रहेको बताएका छन् ।
पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो सन्देशमा भनेका छन्, ‘हजारौं शहिदको बलिदान र लाखौं नागरिकको त्यागपछि लेखिएको संविधान नेपाली जनताको अविच्छिन्न उपलब्धि हो । भर्खरैको जेन–जी आन्दोलनसम्म आइपुग्दा समयले संविधानको परिमार्जन र लोकतान्त्रिक विस्तारको माग गरेको छ ।’
सन्देशमा उनले २३ र २४ भदौका घटनाहरुलाई स्मरण गर्दै आन्दोलनका क्रममा ज्यान गुमाएका ७० भन्दा बढी युवाहरुको बलिदानप्रति दुख व्यक्त गरेका छन् ।
‘२३ गतेको नरसंहार र २४ गतेको विध्वंसले सार्वजनिक सेवा प्रणालीलाई अस्तव्यस्त बनाएको छ । धुलो हेरेर निराश हुने समय छैन, हामीले पुनर्निर्माणको क्षमता र इच्छाशक्ति देखाउनु पर्छ,’ उनले भने ।
पूर्वप्रधानमन्त्रीले तत्काल देशव्यापी पुनर्निर्माणमा सबै राजनीतिक दल र जनसमुदायलाई आव्हान गर्दै स्वतन्त्र, निश्पक्ष र उच्चस्तरीय छानबिन आयोग गठन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेका छन् ।
उनले १० वर्षअघिको संविधानसभा र अहिलेको जेन–जी आन्दोलनबीच समानता औंल्याउँदै प्रत्यक्ष निर्वाचित कार्यकारी पदको मागमा दुई आन्दोलनका एजेण्डा मिल्दोजुल्दो रहेको बताएका छन् ।
‘हाम्रो फरक मतहरु तत्काल स्वीकार भएको भए आज युवाहरुले विद्रोह गर्नुपर्ने र रगत बगाउनुपर्ने अवस्था सिर्जना नहुन सक्थ्यो,’ उनले भने ।
पूर्वप्रधानमन्त्रीले जेन–जी आन्दोलनलाई लोकतन्त्रविरोधी नभई उन्नत लोकतन्त्र र यथास्थितिविरुद्धको आवाज भएको उल्लेख गर्दै दुई दिनका आन्दोलनलाई फरक कोणबाट हेर्न जरुरी रहेको बताएका छन् ।
‘२३ भदौको आन्दोलन वास्तविक जेन–जी आन्दोलन थियो, तर २४ गतेको विध्वंस र आगजनी आन्दोलनकारीको कार्य थिएन, ती प्रतिगमनकारी र अपराधितत्वका कार्य थिए,’ उनले स्पष्ट पारे ।
सन्देशमा उनले आफूहरुबाट पनि कमजोरी भएको स्वीकार्दै राजनीतिक व्यवहारमा कतै न कतै चुक भएको स्मरण गराए ।
‘शहिद परिवार, वेपत्ता, घाइते र अपांग साथीहरुका अपेक्षा पूरा गर्न हामी कतै अलमलियौं । तर अब नेतृत्व हस्तान्तरण र लोकतन्त्रको झण्डाको रक्षा सुनिश्चित गर्न सबै नेपालीसँग प्रत्यक्ष र सार्थक सम्बन्ध कायम गर्नेछौं,’ उनले बताए ।
पूर्वप्रधानमन्त्रीले अन्तमा चेतावनी दिएका छन् कि संविधान र लोकतान्त्रिक गणतन्त्रको आधारभूत मान्यतापछि पछि हट्दा मुलुक थप संकटमा पर्न सक्छ ।
उनले सबै लोकतन्त्रवादी, गणतन्त्रवादी र परिवर्तनप्रेमी शक्तिहरुलाई राष्ट्रिय एकतामा जोडिन आग्रह गर्दै संविधान दिवसको अवसरमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।






















