काठमाडौं– जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खानसहित ६ जना केन्द्रीय तथा प्रदेश स्तरका शीर्ष नेताले आज सामूहिक राजीनामा दिएका छन् ।
पार्टी अध्यक्षलाई सम्बोधन गरेर बुझाइएको राजीनामा पत्रमा हालको पार्टी नेतृत्वले नेपालका विषम परिस्थितिलाई मध्यनजर गर्न असफल भएको, जनअपेक्षा पूरा नगरेको तथा नयाँ पुस्ताको भावनाप्रति असम्मान गरेको आरोप लगाइएको छ ।
नेतृत्व परिवर्तन र आत्मालोचनाका लागि गरिएको माग बेवास्ता भएको साथै पार्टीभित्रै विभिन्न अभिव्यक्तिहरूमार्फत नयाँ पुस्तालाई अपमान गरिएको भन्दै उनीहरूले सामूहिक रूपमा पार्टी परित्याग गरेको उल्लेख गरेका हुन् ।
राजीनामा दिने नेताहरू :
१. अब्दुल खान, वरिष्ठ उपाध्यक्ष
२. डा. शरद सिंह यादव, केन्द्रीय प्रवक्ता
३. संजय कुमार यादव, केन्द्रीय संयोजक, जनमत युवा संघ
४. सि.के. सिंह, केन्द्रीय संयोजक, जनमत स्वास्थ्यकर्मी संघ
५. राजाराम चौधरी, वरिष्ठ प्रदेश इन्चार्ज, सुदूरपश्चिम प्रदेश
६. बिक्रम बहादुर बम, राष्ट्रिय परिषद सदस्य तथा केन्द्रीय सदस्य
नेताहरूले राजीनामा पत्रमा उल्लेख गरेका छन्, ‘हामी कुनै प्रकारको पद स्वार्थका लागि राजनीति गर्ने होइनौं । जनभावना र नयाँ पुस्ताको चाहना अनुसार पार्टीले काम नगरेकोले, सहकार्य गर्न असम्भव भएको कारण हामी पार्टी छाड्दैछौं ।’
यस घटनाले जनमत पार्टीको आन्तरिक राजनीति र भविष्यमा ठुलो असर पार्ने देखिएको छ ।
पार्टी अध्यक्ष र नेतृत्वले यसबारे औपचारिक प्रतिक्रिया दिन बाँकी छ ।






















