काठमाडौं– भारतको हिमाञ्चल प्रदेश सिमला जिल्लाको कोटखाई नजिक भएको पिकअप जिप दुर्घटनामा सल्यानका चार नेपालीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
मृतकमध्ये डिल्लीबहादुर शाही (५०), एकेन्द्र शाही (३६), लक्ष्मी मल्ल शाही (२६) र राजेश विष्ट (३३) रहेका छन् ।
तीन जना मृतक एउटै परिवारका हुन् ।
नवराज शाही र हिमबहादुर शाही घाइते भई उपचारपछि डिस्चार्ज भएका छन् ।
प्रारम्भिक अनुसन्धानअनुसार चालकले नियन्त्रण गुमाउँदा जिप भीरमा खसेको हो ।
लक्ष्मी र डिल्लीबहादुर उपचारकै क्रममा मृत्यु भएको हो ।
शव पोस्टमार्टमका लागि पठाइएको छ ।
भारतीय प्रहरीका अनुसार घटनामा भारतीय दण्डसंहिता धारा १०६ अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ ।
घटनाप्रति मुख्यमन्त्री सुखविन्दरसिंह सुखु र शिक्षा मन्त्री रोहित ठाकुरले शोक व्यक्त गर्दै पीडित परिवारलाई आवश्यक सहयोग गर्ने आश्वासन दिएका छन् ।






















