काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः नख्खु कारागार फर्किएका छन् ।
सहकारी ठगी प्रकरणमा थुनामा रहेका उनी भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा ‘सुरक्षाको कारण’ भन्दै जेल बाहिरिएका थिए ।
अदालतको आदेशबिनै बाहिरिएको भन्दै व्यापक आलोचना भएको थियो ।
शनिबार सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै उनले आफ्नो जन्मदिनको अवसर पारेर स्वेच्छाले कारागार फर्किने बताएका थिए ।
अब अन्याय हुने छैन भन्ने विश्वासका साथ म कारागार जाँदैछु, उनले भनेका थिए ।
ललितपुर प्रहरीका प्रवक्ता चक्रराज जोशीका अनुसार शनिबार साँझ उनी नख्खु कारागार फर्किसकेका छन् ।
यसअघि लामिछानेले कारागार प्रशासक सत्यराज जोशीको हस्ताक्षर भएको भन्दै रिहाइ पत्र सार्वजनिक गरेका थिए ।
तर, प्रशासनले उक्त पत्र नक्कली भएको दाबी गर्दै उनीसहित भागेका कैदीलाई तुरुन्त फर्किन आदेश दिएको थियो ।






















