काठमाडौं- जेन–जी आन्दोलनको अवसरमा देशभरका १७ जेलमा आगजनी र तोडफोड भएपछि करिब १० हजार कैदी फरार भएका छन् ।
कारागार व्यवस्थापन विभागका अनुसार नक्खु र केन्द्रीय कारागार मात्रबाट ४७ सय कैदी भागेका छन् ।
ललितपुरको नक्खु जेल एकदमै जलेर अभिलेख नष्ट भएको छ भने एक हजार २८० कैदी सबै फरार भएका छन् ।
सुन्धारास्थित केन्द्रीय कारागारबाट पनि तीन हजार चार सय कैदीबन्दी भागेका छन्। महिला बन्दीगृह पनि खाली भएको छ ।
नेपाल प्रहरीले १७ जेलबाट १३ हजार ५ सय कैदी फरार भएको दाबी गरेको छ ।
सेनाले नियन्त्रण लिएपछि ३०३ कैदी पक्राउ परेका छन् भने ७३ वटा लुटिएका हतियार बरामद भएका छन् ।
सुदूरपश्चिमका ६ जिल्ला जेल रित्तिएका छन्, जहाँ १४ सय कैदी भागेका छन् ।
मकवानपुर र चितवनबाट ९८२, मधेशका तीन जेलबाट ७७६, सिन्धुलीबाट ४७३, रुकुम पश्चिम र जुम्लाबाट ७७ कैदी फरार भएका छन् ।
डिल्लीबजार कारागारमा भने सेनाको अप्रेसनपछि ६७६ कैदीलाई सुन्धारा सारिएको छ ।
देशभर कैदीबन्दी रेकर्ड नष्ट हुँदा सुरक्षा निकायले खोजतलास तीव्र बनाएको छ ।






















