देश फेरि एक पटक अनिश्चितताको गर्तमा छ ।
केही व्यक्तिको व्यक्तिगत महत्वाकांक्षा, अहङ्कार र सत्ता लोभकै कारण मुलुकका मूल संरचना खरानी बन्न पुगेका छन् ।
काठमाडौं महानगर प्रमुख बालेन शाहले युवालाई सडकमा उकास्दै गरेको शैली र ठगी अभियोगमा जेलमा रहेका रवि लामिछानेलाई निकाल्न रास्वपाको गरेको राजनीतिक घुसपैठ ।
यी दुवै घटनाले मुलुकभर अराजकता फैलाइदिएको छ ।
संसद्, अदालतदेखि सिंहदरबारसम्मको अस्तित्वमै प्रश्न उठेको छ ।
अझ खतरनाक त हजारौं बलात्कारी, भ्रष्ट र कुख्यात अपराधी जेलबाट बाहिरिएकाले समाजलाई भयभीत बनाएको छ ।
यो पहिलो पटक होइन । २००७ सालमा राणा शासन ढल्दा, २०३१ सालमा सुखानीको जंगलको रक्तरञ्जित घटनापछि, २०४५ सालको जनआन्दोलनमा, १० वर्षे माओवादी सशस्त्र संघर्ष, राजा ज्ञानेन्द्र शाहको निरंकुशताको विरुद्ध २०६२/०६३ को जनआन्दोलन लगायतका संघर्षमा मुलुकका संरचना जोगाइएका थिए ।
राजतन्त्र फाल्दासमेत संरचना बचाउन जनताले ठूलो मूल्य चुकाएका थिए ।
तर, आज जेन्जी पुस्ताको आन्दोलनको आडमा केही व्यक्तिको स्वार्थी राजनीतिले यी संरचना नै राख्न नसक्ने गरी खरानी बनाइदिएको छ ।
रोम जलेझैँ, लंका जलेझैँ मुलुक सखाप भएको दृश्य सर्वत्र देखिन्छ ।
इतिहासले पटक–पटक अवसर दिएको संरचनालाई अहिले किन जोगाउन सकिएन ?
यसको उत्तर जिम्मेवारी बोध गर्न नसकेका शीर्ष नेतामा छ ।
शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ आजको अवस्थाका मुख्य दोषी हुन् ।
इतिहासले यिनलाई माफ गर्ने छैन ।
समाजले बुझ्नुपर्ने कुरा स्पष्ट छ, अहङ्कार, दम्भ र अराजकताबाट देश बन्न सक्दैन ।
अराजकताबाट केवल खरानी मात्र उत्पादन हुन्छ ।






















