काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राम्रो काम माओवादीले गर्ने, भोट भने ‘भ्रष्टाचारी’लाई दिने परम्परा अब तोड्न आवश्यक रहेको बताएका छन् ।
जनतासँग माओवादी मध्यपहाडी (पुष्पलाल लोकमार्ग) जनजागरण अभियानअन्तर्गत आइतबार (भदौ २२) लमजुङमा आयोजित कार्यक्रममा उनले राम्रो काम आफूहरूले गरेको जिकिर गरे ।
“भ्रष्टाचार पार्टीहरूमा, सरकार र ब्युरोक्रेसीमा देखिएपछि हामीले सरकारमै रहेर सुशासनको अभियान चलाएका थियौँ,” उनले भने, “मिटब्याजपीडितलाई न्याय दिने गरी पहिलोपटक ऐन बनाएर समाधानको बाटो खोल्यौँ ।”
उनले आफूहरू सरकारमा रहँदा सामाजिक न्याय, नागरिकता समस्या समाधान, भारत र चीन भ्रमणमार्फत राष्ट्रिय हितमा काम गरेको उल्लेख गरे ।
चीन भ्रमणका क्रममा १४ परम्परागत नाका खोल्ने पहल गरिएको उनले बताए ।
“देशभित्र सुशासन र बाहिर राष्ट्रिय हितका पक्षमा काम गर्दा राम्रो कामकै कारण संख्याको बलमा हामीलाई हटाइयो,” उनले भने, “तर, हामी जनतासँगै छौँ । फेरि जनताको तागत लिएर आउनेछौँ ।”
प्रचण्डले मध्यपहाडी लोकमार्ग अभियानअन्तर्गत बैतडीदेखि लमजुङसम्म आइपुग्दा देखिएका समस्या समाधानका निम्ति पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका उनको सचिवालयले जनाएको छ ।






















