images
images
  • जापानी प्रधानमन्त्री शिगेरु इशिबाद्वारा पदबाट राजीनामा

    काठमाडौं– जापानी प्रधानमन्त्री शिगेरु इशिबाले सत्तारूढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) विभाजन हुन नदिन राजीनामा दिएका छन् ।

    लगातार दुई पटकको चुनावी पराजयपछि इशिबामाथि दबाब बढ्दै गएको थियो ।

    आइतबार साँझ टोकियोमा उनले पत्रकार सम्मेलनमार्फत पद त्यागको घोषणा गरेका छन् ।

    एलडीपीले सोमबार समयअगावै नेतृत्व चुनाव गर्ने तयारी गरेको थियो, जसलाई इशिबाविरुद्धको अविश्वास प्रस्तावको रूपमा लिइएको थियो ।

    उनको राजीनामासँगै त्यो मतदान रद्द भएको छ ।

    गत अक्टोबरमा प्रधानमन्त्री बनेका इशिबाको नेतृत्वमा एलडीपीले संसदका दुवै सदनमा बहुमत गुमाएको थियो ।

    अब नयाँ नेताका लागि सांसदहरूले प्रतिस्पर्धा गर्नेछन्, जसका लागि कम्तिमा २० सांसदको समर्थन आवश्यक हुन्छ ।

    एलडीपी अझै पनि तल्लो सदनको ठूलो दल भएकाले यसको उम्मेदवार प्रधानमन्त्री बन्ने सम्भावना बढी छ, तर विपक्षी दलहरूले एकता गरेर वैकल्पिक उम्मेदवार उठाए गैर-एलडीपी प्रधानमन्त्री बन्ने सम्भावना पनि नटर्ने देखिन्छ ।

    नयाँ प्रधानमन्त्रीले नीति अघि बढाउन साना दलहरूसँग सहकार्य गर्नुपर्नेछ ।

    यद्यपि अर्को आमनिर्वाचन अझै तीन वर्ष टाढा भए पनि, शक्ति सुदृढ गर्न तल्लो सदनमा चाँडो चुनाव गराउने विकल्प खुला रहनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images