काठमाडौं– बुधबारको संसद बैठकमा चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली सत्तारुढ र प्रतिपक्षी दल दुवैका प्रश्नको घेरामा परे ।
सांसदहरूले चीनले नेपालले ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) मा सहमति जनाएको दाबीबारे प्रधानमन्त्री स्वयंले संसदमा आएर प्रष्ट जवाफ दिनुपर्ने माग गरे ।
विशेष समयमा माओवादी केन्द्रका लेखनाथ दाहालले भ्रमणमा कूटनीतिक अपरिपक्वता देखिएको आशंका व्यक्त गर्दै प्रधानमन्त्रीको आधिकारिक धारणा आवश्यक भएको बताए ।
उनले भारत–चीनबीच लिपुलेकलाई व्यापारिक मार्ग बनाउने सहमतिको विषयमा पनि सरकारले प्रष्ट अडान राख्नुपर्नेमा जोड दि ए।
एकीकृत समाजवादीका प्रकाश ज्वालाले चीनको विदेश मन्त्रालयले नेपालले जीएसआईलाई समर्थन गरेको दाबी गरेको भन्दै यसको वास्तविकता संसदमा खुलाउनुपर्ने माग गरे ।
उनले नेपाल कुनै पनि शक्ति राष्ट्रको सैन्य रणनीतिबाट अलग रहनुपर्ने र असंलग्न परराष्ट्र नीतिप्रति सरकार प्रतिबद्ध रहनुपर्ने बताए ।
त्यस्तै, कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले जीएसआई सम्बन्धी विषय छलफलको एजेण्डा नभए पनि विज्ञप्तिमा किन आएको हो भन्नेबारे प्रधानमन्त्रीको सचिवालय र परराष्ट्र मन्त्रालयले समयमै स्पष्टता दिनुपर्ने बताए ।
उनले चीन भ्रमणमा लिपुलेक सम्झौताबारे प्रधानमन्त्रीले राखेको आपत्तिलाई चीनले पन्छिन खोजेको जस्तो देखिएको टिप्पणी गरे ।
१४ भदौमा चीन गएका ओली बुधबार साँझ स्वदेश फर्किँदैछन् ।
तर, भ्रमणकै क्रममा चीनले नेपालले जीएसआईमा सहमति जनाएको भन्दै विज्ञप्ति जारी गरेपछि संसदमा सरकारसँग जवाफ मागिएको हो ।























