images
images
  • उत्तर कोरियाको भावी नेतृत्वमा किमकी छोरी

    बेइजिङ– उत्तर कोरियाली नेता किम जङ अनको हालसालैको चीन भ्रमण केवल कूटनीतिक दृष्टिले मात्र होइन, पारिवारिक संकेतका कारण पनि महत्त्वपूर्ण मानिएको छ ।

    रेलबाट बेइजिङ ओर्लिँदै गर्दा किमको छेउमै देखिएकी एक बालिकातर्फ धेरैको ध्यान गयो। ती बालिका किमकी छोरी किम जू ए हुन् ।

    दक्षिण कोरियाको राष्ट्रिय गुप्तचर निकाय (एनआईएस) का अनुसार किम जू एलाई सम्भावित ‘उत्तराधिकारी’ का रूपमा हेरिएको छ ।

    यद्यपि उनको वास्तविक उमेरबारे अझै स्पष्ट तथ्य सार्वजनिक छैन ।

    अनुमानअनुसार उनी किम जङ अन र उनकी पत्नी रि सोल जूका तीन सन्तानमध्ये दोस्रो हुन् ।

    तर किम परिवारका सदस्यबारे प्रायः कुनै आधिकारिक विवरण सार्वजनिक गरिँदैन ।

    पहिलो सार्वजनिक चिनारी

    किमले आफ्ना पारिवारिक विषयलाई सधैं गोप्य राख्ने गरेका छन् ।

    उनले आफ्नी पत्नीलाई पनि विवाहपछि केही वर्ष ढिला मात्र सार्वजनिक कार्यक्रममा देखाएका थिए ।

    किमका अन्य सन्तान सार्वजनिक मञ्चमा देखिएका छैनन् ।

    किम जू एबारे पहिलोपटक सन् २०१३ मा अमेरिकी बास्केटबल खेलाडी डेनिस रडम्यानले खुलासा गरेका थिए ।

    द गार्डियन सँगको अन्तर्वार्तामा उनले उत्तर कोरिया भ्रमणका क्रममा किमकी छोरीलाई बोकेको बताएका थिए ।

    त्यसपछि लामो समयसम्म उनको चर्चा भएन ।

    तर नोभेम्बर २०२२ मा उनी किमसँगै अन्तरमहादेशीय क्षेप्यास्त्र (ICBM) परीक्षण कार्यक्रममा देखिइन् ।

    त्यसपछि उनले सार्वजनिक गतिविधिहरूमा निरन्तर उपस्थिति जनाउन थालेकी छन् ।

    सम्मानित उपाधि र सार्वजनिक उपस्थितिहरू

    फेब्रुअरी २०२३ मा उनको तस्बिर हुलाक टिकटमा समेत छापियो ।

    उनले उच्च अधिकारीहरूसँगै भोजमा भाग लिएकी थिइन् ।

    त्यसबेलादेखि उनलाई ‘माननीय छोरी’ भनेर सम्बोधन गर्न थालिएको छ, जुन उपाधि उत्तर कोरियामा विशेष र सम्मानित व्यक्तिहरूलाई मात्र दिइन्छ ।

    किम जङ अनलाई पनि उत्तराधिकारीका रूपमा तय भएपछि मात्र ‘आदरणीय कमरेड’ भन्ने सम्बोधन गरिएको थियो ।

    यसले किम जू एलाई भविष्यमा नेतृत्व हस्तान्तरण हुने संकेत थप प्रबल बनाएको छ ।

    एनआईएसको मूल्याङ्कन

    दक्षिण कोरियाको गुप्तचर निकायले २०२३ मा नै सांसदहरूलाई जानकारी दिँदै किम जू ए घोडा चढ्न, स्की गर्न र पौडी खेल्न रुचाउने र प्योङ्याङमा घरमै शिक्षा लिएको जनाएको थियो ।

    उनी त्यतिबेला करिब १० वर्षकी भएको बताइएको छ ।

    सन् २०२४ को सुरुवातमा एनआईएसले उनलाई नै सम्भावित उत्तराधिकारीको हैसियतमा चिनाएको थियो ।

    तर किम जङ अन अझै युवा भएकाले उत्तराधिकारी चयनको विषय परिस्थितिमा निर्भर गर्ने निष्कर्ष निकालेको थियो ।

    पहिलो अन्तर्राष्ट्रिय उपस्थितिः चीन भ्रमण

    हालै बेइजिङमा देखिएको उनको उपस्थितिलाई विश्लेषकहरूले ठूलो संकेतका रूपमा लिएका छन् ।

    यसले उत्तर कोरियाको उत्तराधिकार व्यवस्थामा उनी अघिल्लो पुस्ताबाट अगाडि बढ्न सक्ने संभावना बलियो बनाएको देखिन्छ ।

    वंश परम्परा र पितृसत्ता

    सन् १९४८ देखि उत्तर कोरिया किम परिवारकै हातमा रहँदै आएको छ ।

    उनीहरू आफ्नो वंशलाई ‘पवित्र’ ठान्छन् र देशको नेतृत्व गर्ने अधिकार केवल आफूलाई मात्र भएको विश्वास राख्छन् ।

    तर उत्तर कोरियामा अझैसम्म कुनै महिला सर्वोच्च नेतृत्वमा पुगेकी छैनन् ।

    यस्तो अवस्थामा छोरीलाई अगाडि सार्ने किमको रणनीति परम्परागत पितृसत्तात्मक धारणा तोड्ने प्रयासका रूपमा पनि हेरिएको छ । –बीबीबी

    प्रतिक्रिया दिनुहोस्
    images
    images