काठमाडौं– अमेरिकाले एकैपटक ३७ जना नेपालीलाई डिपोर्ट गरेको छ ।
चार्टर्ड विमानमार्फत उनीहरूलाई बिहीबार साँझ ५ बजे काठमाडौं ल्याइने अध्यागमन विभागले जनाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका वरिष्ठ अधिकारी अञ्जन न्यौपानेका अनुसार डिपोर्ट हुने जानकारी बुधबारकै लागि प्राप्त भए पनि प्राविधिक कारण देखाउँदै एक दिन ढिला भएको हो ।
यसअघि पनि २०८२ जेठ २५ गते अमेरिकाले ३७ नेपालीलाई चार्टर्ड विमानमै काठमाडौं पठाएको थियो ।
एकैपटक यति ठूलो संख्यामा डिपोर्ट गरिएको यो दोस्रो घटना हो ।
डोनाल्ड ट्रम्प दोस्रोपटक अमेरिकी राष्ट्रपति बनेयता हालसम्म २१५ जना नेपालीलाई अमेरिका निर्वासनमा पठाइसकेको तथ्यांक छ ।
ट्रम्पले सन् २०२५ जनवरी २० मा राष्ट्रपति पदको शपथ लिएलगत्तै अवैध आप्रवासी निष्कासन सम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।
त्यसपछि अमेरिकाले १४ लाख ४५ हजारभन्दा बढी आप्रवासीलाई डिपोर्ट सूचीमा राखेको थियो, जसमा एक हजार ३६५ जना नेपालीसमेत परेका थिए ।
सन् २०२४ मा मात्रै ३५ नेपाली अमेरिका डिपोर्ट भएका थिए ।
डिपोर्ट गरिएका व्यक्तिहरूमाथि प्रायः अवैध तरिकाले अमेरिका प्रवेश गरेको, बिनाभिसा बसेको वा गलत मनसाय राखेको आरोप लगाइन्छ ।
काठमाडौंस्थित अमेरिकी दूतावासले उनीहरूको आगमनबारे केही दिनअघि नै अध्यागमन विभागलाई जानकारी दिने गरेको छ ।
विमानस्थलमा आइपुगेपछि डिपोर्ट भएकाहरूलाई नेपाल प्रहरीलाई बुझाइन्छ ।
प्रहरीद्वारा उनीहरूसँग आवश्यक सोधपुछ गरी विशेष गरी अमेरिका पठाउने मानव तस्करी नेटवर्कबारे जानकारी लिइने गरिएको छ ।























