काठमाडौं– प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले आफूमाथि लागेको मानव बेचबिखनको आरोपलाई राजनीतिक षड्यन्त्र भन्दै खारेज गरेकी छन् ।
उनले संवैधानिक परिषद्मा नेपाली कांग्रेसको प्रतिनिधित्व नहुनु र आफू विपक्षी भूमिकामा रहनुका कारण ठूला दलहरूले आफूलाई हटाउन खोजेको दाबी गरिन् ।
‘मानव बेचबिखन’को आरोप लगाउने एमाले सांसद योगेश भट्टराईको दाबीलाई आधारहीन भन्दै उनले आफ्नी संस्था पीए नेपालले जेलमा परेका अभिभावकका बच्चाहरूलाई अस्थायी संरक्षण र शिक्षा मात्र दिएको स्पष्ट पारिन् ।
उनका अनुसार आरोपमा तानिएका बच्चाहरू र अभिभावकहरूले नै मिडियामा बोलेर सत्यतथ्य सार्वजनिक गरिसकेका छन् ।
‘बालबालिकाको गोपनीयतामाथि राजनीति गर्नु अपराध हो,’ उनले भनिन् ।
रानाले आफू संस्थामा सञ्चालक मात्र नभई ‘आमा’ बनेर बच्चाहरूको हेरचाह गरेको बताइन् ।
राजीनामा माग्न कुनै आधार नभएको दाबी गर्दै उनले गठबन्धन दलहरू कांग्रेस र एमाले संवैधानिक परिषद्का नियुक्ति अवरुद्ध हुन नदिन आफ्नो पद खाली गराउन चाहेको आरोप लगाइन् ।
अमेरिकी दूतावासलाई पठाइएको भनिएको पत्रबारे उनले पत्र तयार भए पनि दर्ता वा अग्रसारित नभएको स्पष्टीकरण दिइन् ।
तत्कालीन महामन्त्री मुकुल ढकाल र गृहमन्त्री रवि लामिछानेमार्फत भएको छानबिनमा पनि केही नखुलेको उनको भनाइ छ ।























