काठमाडौं– इजरायलले गाजा सिटीमा आक्रमण तीव्र पार्ने घोषणा गरेको छ । २३ महिना लामो युद्धपछि पनि हमासले सुरुङमार्फत गतिविधि जारी राखेको आशंका रहेकाले आक्रमण तीव्र पार्न लागिएको इजरायलको दाबी छ ।
इजरायलले उत्तरी गाजाका केही भागमा मानवीय सहायता प्रवाहलाई सुस्त पार्ने वा पूर्णरूपमा रोक्ने चेतावनी दिएको छ ।
इजरायलले दक्षिणी क्षेत्रबाट लाखौँ बासिन्दालाई हटाउने तयारी गरिरहेकाले गाजाको उत्तरी भागमा सहायता ट्रकको आवतजावत कम गर्ने एक अधिकारीले बताएका छन् ।
इजरायलले शुक्रबार गाजा सिटीलाई युद्ध क्षेत्र घोषणा गर्दै यसलाई हमासको गढ बताएको थियो । लगभग २३ महिना लामो युद्धका बाबजुद यहाँ सुरुङहरूको सञ्जाल अझै पनि प्रयोगमा रहेको इजरायलको आरोप छ ।
हालैका दिनहरूमा इजरायली सेनाले सहरको बाहिरी इलाकामा आक्रमण तीव्र पारेको छ । शुक्रबार राति गाजामा कैयौँ ठूला विस्फोट भएका थिए ।
गाजामा मृत्यु हुनेको संख्या ६३ हजार नाघेको छ ।
अवदा अस्पतालका स्वास्थ्य अधिकारीहरूका अनुसार, शनिबार मध्य गाजामा सहायता सामग्री लिने प्रयास गर्दा इजरायली सेनाको गोली लागेर चार जनाको मृत्यु भएको छ ।
यद्यपि, सहायतामा अवरोध कहिलेदेखि सुरु हुन्छ र हवाई सहायता कहिले पूर्णरूपमा बन्द हुन्छ भन्ने निश्चित छैन । शनिबारसम्म गाजामा कैयौँ दिनदेखि कुनै हवाई सहायता पुगेको छैन ।


विश्व खबर 




















