काठमाडौं– उत्तर कोरियाली नेता किम जोङ उनले रुसको युद्धमा ज्यान गुमाएका आफ्ना सैनिकलाई श्रद्धाञ्जली अर्पण गर्दै मुटु पोल्ने पीडा भएको बताएका छन् ।
प्योङयाङमा आयोजित स्मृति समारोहमा किमले ती सैनिकलाई ‘वीर’ को संज्ञा दिँदै प्रशंसा गरेका थिए ।
सार्वजनिक तस्बिरहरूमा उनले मृत सैनिकहरूको तस्वीरमा पदक टाँस्दै जीवित सैनिकलाई सम्मानचिह्न अर्पण गर्दै र परिवारजनसँग आँसु झार्दै शोक साटिरहेको देखाइएको छ ।
किमले परिवारसँग भेट्दा बचाउन नसकेकोमा क्षमायाचना गर्न कठिन भएको बताएका थिए ।
कार्यक्रममा भावुक दृश्यहरूबीच फर्किएका सैनिकहरूको सम्मानमा भव्य भोज पनि आयोजना गरिएको थियो ।
अमेरिकी मूल्यांकन अनुसार २०२४ को अन्त्यतिर रुस पठाइएका करिब १२ हजार उत्तर कोरियाली सैनिकमध्ये झन्डै ४ हजारको मृत्यु वा घाइते भएका छन् ।
यद्यपि, उत्तर कोरिया यस्ता क्षति प्रायः गोप्य राख्दै आएको भए पनि यसपटक खुलेआम स्वीकार गरेको छ ।
युक्रेनी तथा अमेरिकी गुप्तचर एजेन्सीले उत्तर कोरियाली सैनिकहरूको रणनीति ‘कठोर तर निराशाजनक’ रहेको बताउँदै उनीहरूलाई आत्मघाती शैलीमा प्रयोग गरिएको उल्लेख गरेका छन् ।
ठूलो क्षति बेहोरे पनि प्योङयाङले रुसलाई समर्थन जारी राख्दै गोला–बारुद आपूर्ति गरेको छ ।
अमेरिकी अधिकारीका अनुसार रसियाले युक्रेनविरुद्ध उत्तर कोरियामा बनेका क्षेप्यास्त्रसमेत प्रयोग गरिरहेको छ ।
सीएनएनले उत्तर कोरिया चाँडै नै थप २५–३० हजार सैनिक रुस पठाउने तयारीमा रहेको जनाएको छ ।


विश्व खबर 




















