काठमाडौं– भारत सरकारले नेपालका दुई जलविद्युत् आयोजनाबाट उत्पादन हुने थप ८० मेगावाट विद्युत् खरिद गर्ने अनुमति दिएको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार बिहीबार (भदौ ५) भारतले मेवाखोला (४८.५ मेगावाट) र करुवासेती (३१.०४ मेगावाट) जलविद्युत् आयोजना मार्फत उत्पादित बिजुली आयात गर्ने स्वीकृति दिएको हो ।
प्राधिकरणका अनुसार यो अनुमति द्विपक्षीय सम्झौताअन्तर्गत मध्यम अवधिका लागि दिइएको हो, जसको अवधि २१ अगस्ट २०२५ देखि ३१ अक्टोबर २०२६ सम्म हुनेछ ।
यसअघि भारतले नेपालबाट १,०१०.९ मेगावाट विद्युत् खरिद गर्न स्वीकृति दिएको थियो ।
नयाँ थपिएको ८० मेगावाटसहित भारतमा निर्यात गर्न सकिने कुल क्षमता १,०९०.९ मेगावाट पुगेको प्राधिकरणले जनाएको छ ।
नेपालले हाल बंगलादेशमा पनि ४० मेगावाट विद्युत् आपूर्ति गर्दै आएको छ ।
भारत र बंगलादेश दुबैलाई गरेर कुल निर्यात क्षमता १,१३०.९ मेगावाट पुगेको प्राधिकरणको भनाइ छ ।
यस्तै, गत साउन २६ गते भारतले थप २०० मेगावाट विद्युत् खरिदका लागि पनि स्वीकृति प्रदान गरेको थियो ।























