images
images
  • रूसविरुद्ध लड्न अमेरिका र युरोपेली देशहरू वैकल्पिक सैन्य शक्ति निर्माणको तयारीमा

    काठमाडौं– अमेरिका र युरोपका सैन्य प्रमुखहरूले युक्रेनका लागि विभिन्न ‘सुरक्षा ग्यारेन्टी’ विकल्पहरू तयार पारेका छन् ।

    यी विकल्पहरू बिहीबार सम्बन्धित राष्ट्रिय सुरक्षा सल्लाहकारलाई प्रस्तुत गरिएको रोयटर्सले जनाएको छ ।

    यो पहल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुससँगको युद्ध अन्त्य गर्ने कुनै पनि शान्ति सम्झौतामा युक्रेनलाई सहयोग गर्ने घोषणा गरेपछि आएको हो ।

    वाशिङ्टन डीसीमा भएको बैठकमा अमेरिका, फिनल्यान्ड, फ्रान्स, जर्मनी, इटाली, बेलायत र युक्रेनका रक्षा प्रमुखहरूले सम्भावित योजनामा छलफल गरेका थिए ।

    ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार समेत रहेका अमेरिकी विदेशमन्त्री मार्को रुबियोले युरोपेली समकक्षीसँग टेलिफोन संवाद गरी विकल्पबारे चर्चा गरेका थिए ।

    अन्तिम निर्णय नभए पनि युरोपेली देशहरूले नै सैनिक तैनाथी र लागतको प्रमुख हिस्सा व्यहोर्ने अपेक्षा गरिएको छ ।

    ट्रम्पले अमेरिकी सेना युक्रेनमा नपठाउने स्पष्ट गरे पनि हवाई समर्थन र अन्य सैन्य संलग्नता खुला राखेका छन् ।

    सम्भावित योजनामा युरोपेली सेनालाई युक्रेन पठाएर अमेरिकी कमान्डमा राख्ने, हवाई रक्षा प्रणाली उपलब्ध गराउने वा ‘नो–फ्लाइ जोन’ लागू गर्ने विषय समावेश छन् ।

    फ्रान्स, बेलायत र जर्मनीले आवश्यक परेमा सेना पठाउने तयारी देखाएका छन् ।

    तर युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अपेक्षा गरेअनुसार, दुई साताभित्र सुरक्षा ग्यारेन्टीबारे स्पष्टता आउनेछ ।

    उनका अनुसार करिब ३० देशले सहयोगको संकेत गरे पनि सबै सहयोग सैन्य स्वरूपको हुने छैन, केहीले वित्तीय वा प्रतिबन्ध सम्बन्धी सहायता दिनेछन् ।

    ट्रम्पको सहभागिताले अन्य युरोपेली देशहरूमा पनि विश्वास बढेको जेलेन्स्कीले बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images