काठमाडौं– अमेरिकी अर्बपति एलन मस्कले नयाँ राजनीतिक पार्टी सुरु गर्ने योजना हाललाई स्थगित गरेका छन् ।
वाल स्ट्रिट जर्नलले उद्धृत गरेका स्रोतअनुसार मस्कले आफ्नो ध्यान कम्पनीहरूतर्फ केन्द्रित गर्न चाहेका हुन् ।
तर, सामाजिक सञ्जाल एक्समा प्रतिक्रिया दिँदै उनले भनेका छन्, ‘वाल स्ट्रिट जर्नलले भनेको कुनै पनि कुरा सत्य मान्नु हुँदैन ।’
गत जुलाईमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पसँग कर–खर्च विधेयकबारे विवादपछि मस्कले ‘अमेरिका पार्टी’ घोषणा गरेका थिए ।
तर हाल उपराष्ट्रपति जेडी भान्ससँग सम्बन्ध सुदृढ बनाउन मस्कले पार्टी योजनामा ब्रेक लगाएको जनाइएको छ ।
मस्क र उनका सहयोगीहरूले २०२८ मा भान्स राष्ट्रपति पदमा उम्मेदवार बने सहयोग गर्ने सम्भावनासमेत व्यक्त गरेका छन् ।
मस्कले २०२४ मा ट्रम्प र रिपब्लिकन उम्मेदवारलाई जिताउन करिब ३०० मिलियन डलर खर्च गरेका थिए ।
तर, लगानीकर्ताहरू भने राजनीतिक महत्वाकांक्षाले टेस्ला जस्ता कम्पनीमा उनको ध्यान घट्ने चिन्तामा छन् ।
यसैबीच, टेस्लाका सेयर यस वर्ष १८ प्रतिशतभन्दा बढीले घटेका छन् ।
गत जुलाईमा दशकयताकै कमजोर बिक्री देखिए पनि नाफा मार्जिन भने अपेक्षाभन्दा राम्रो रह्यो ।
मस्कले विद्युतीय सवारी साधनमा ट्रम्प प्रशासनको सहुलियत अन्त्य भएपछि कठिनाइ आउन सक्ने चेतावनीसमेत दिएका छन् ।


विश्व खबर 




















