images
images
  • ७ हजार नेपालीलाई निष्कासन गर्दै अमेरिका

    काठमाडौं– अमेरिकाको नवौँ सर्किट अपिल अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनलाई नेपालसहित मध्य अमेरिकाबाट आएका झण्डै ६० हजार आप्रवासीको अस्थायी सुरक्षा स्थिति (टीपीएस) समाप्त गर्न अनुमति दिएको छ ।

    यसअघि तल्लो अदालतले रोक लगाएको यो निर्णयपछि आप्रवासीलाई स्वदेश फर्काउने बाटो खुलेको हो ।

    फैसला अनुसार नेपालका करिब सात हजार, होन्डुरसका ५२ हजार र निकारागुआका चार हजार आप्रवासी प्रभावित हुनेछन् ।

    नेपालका लागि टीपीएस यसै वर्ष अगस्ट ५ मा सकिसकेको छ भने होन्डुरस र निकारागुआका लागि यो अवधि आउँदो सेप्टेम्बर ८ मा समाप्त हुँदै छ ।

    टीपीएस भनेको प्राकृतिक विपत्ति, राजनीतिक अस्थिरता वा अन्य खतरनाक परिस्थितिका कारण असुरक्षित देशका नागरिकलाई अमेरिकी होमल्यान्ड सेक्युरिटी विभागले दिने अस्थायी कानुनी स्थिति हो, जसअन्तर्गत उनीहरूलाई बस्न र काम गर्न अनुमति हुन्छ ।

    ट्रम्प प्रशासनले यो कार्यक्रम स्थायी बसोबास वा शरणको विकल्प बन्नु नहुने दाबी गर्दै विभिन्न देशका लाखौँ आप्रवासीको टीपीएस समाप्त गर्दै आएको छ ।

    यसअघि भेनेजुएला, हैटी, युक्रेन, अफगानिस्तान र क्यामरुनलगायत देशका नागरिकको टीपीएस पनि हटाइएको थियो ।

    नेपालका नागरिकलाई २०१५ को विनाशकारी भूकम्पपछि, होन्डुरस र निकारागुआका आप्रवासीलाई भने १९९८ को आँधी ‘मिच’पछि यो सुविधा दिइएको थियो ।

    तर, ट्रम्प प्रशासनको यो कदमविरुद्ध आप्रवासी अधिकार समूहहरूले निरन्तर विरोध गर्दै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images