images
images
  • अफगानिस्तानमा बस दुर्घटनामा ७३ जनाको मृत्यु

    काठमाडौं– अफगानिस्तानमा भएको बस दुर्घटनामा ७३ जनाको ज्यान गएको छ ।

    मृतकमध्ये १७ जना बालबालिका रहेको बीबीसीले स्थानीय अधिकारीलाई उद्धृत गर्दै जनाएको छ ।

    दुर्घटनाग्रस्त बसमा प्रायः इरानबाट फिर्ता पठाइँदै गरेका अफगानी नागरिक सवार रहेका थिए ।

    तालिबानको सूचना तथा संस्कृति विभागका निर्देशक अहमदुल्ला मुक्तकीका अनुसार काबुलतर्फ जाँदै गरेको बस ट्रक र मोटरसाइकलसँग ठोक्किँदा आगलागी भएको हो ।

    बसमा रहेका सबै यात्रुको मृत्यु भएको र ठोक्किएका अन्य दुई सवारीसाधनका चालकसहित दुई जनाले पनि ज्यान गुमाएको जनाइएको छ ।

    हालका महिनाहरूमा इरानले गृहयुद्धका कारण त्यहाँ शरण लिएर बसेका अफगानीहरूलाई स्वदेश फर्काउने कार्यलाई तीव्रता दिएको छ ।

    सन् १९७० को दशकदेखि लाखौँ अफगानीहरू युद्ध र अस्थिरताका कारण इरान तथा पाकिस्तान पलायन गरेका थिए ।

    विशेषगरी सन् १९७९ मा सोभियत संघको आक्रमणपछि र सन् २०२१ मा तालिबान पुनः सत्तामा आएपछि अफगानीहरूको विदेश पलायन अझ बढेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images