काठमाडौं– रूसले राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीबीच हुने भनिएको शिखर वार्तालाई खासै महत्व दिएको छैन ।
तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भने दुवै नेताबीच प्रत्यक्ष भेट आवश्यक रहेको भन्दै युद्ध अन्त्यका लागि दबाब बढाइरहेका छन् ।
गत साता अलास्कामा पुटिनसँग भेटेका र सोमबार ह्वाइट हाउसमा सात युरोपेली नेता र जेलेन्स्कीलाई स्वागत गरेका ट्रम्पले शान्ति सम्भव भए–नभएको छिट्टै थाहा हुने दाबी गरे ।
उनले पुटिन सम्झौतामा तयार नहुन सक्ने संकेत पनि दिए ।
पुटिनले प्रत्यक्ष वार्ताको संकेत दिए पनि परराष्ट्रमन्त्री सर्गेई लावरोभले प्रक्रियागत तयारीबिना यस्तो भेट सम्भव नभएको स्पष्ट पारे ।
यता, राष्ट्रसंघमा रूसका उपप्रतिनिधि दिमित्री पोल्यान्स्कीले वार्ता केवल देखावटी भेट नहोस भन्दै सावधानी आवश्यक रहेको बताए ।
यसबीच, ट्रम्पले चलिरहेको वार्ता तीव्र बनाउन न्यू जर्सीस्थित आफ्ना ग्रीष्मकालीन बिदा रद्द गरेका छन् ।
ह्वाइट हाउसले राष्ट्रपति निरन्तर काममा केन्द्रित हुने जनाएको छ ।
तर, वार्ताको क्रममा देखाइएको युक्रेन नक्सा भने विवादित बन्यो ।
नक्सामा २० प्रतिशत भू–भाग रुसको कब्जामा रहेको उल्लेख भए पनि जेलेन्स्कीले यो आँकडा गलत भएको भन्दै आपत्ति जनाए ।
उनले वास्तविक नियन्त्रण निकै कम रहेको बताए र भू–भागसम्बन्धी प्रश्न पुटिन र आफूबीच मात्र टुंगिन सक्ने स्पष्ट पारे ।
युद्धक्षेत्र देखाउने नक्सा र भू–भाग साटासाटबारे ट्रम्पको प्रस्तावले युक्रेन र युरोपेली मुलुकहरूलाई अमेरिकाले किभलाई भूभाग त्याग्न दबाब दिने हो कि भन्ने चिन्ता थपिएको छ ।


विश्व खबर 




















