काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरू सक्षम र जिम्मेवार भएर अघि बढे आफू पद छोड्न तयार रहेको बताएका छन् ।
मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले अहिलेको समय युवाहरूको भएको उल्लेख गर्दै देशको विकासमा उनीहरूको सक्रियता अपरिहार्य रहेको बताए ।
उनका अनुसार, युवाहरूले आफ्नो क्षमता देखाएर देशलाई अघि बढाउनुपर्छ ।
“यो युवाहरूको समय हो, उनीहरूले नै नेतृत्व लिनुपर्छ,” प्रधानमन्त्री ओलीले भने, “त्यसैले तपाईंहरूले किन पद नछोडेको भन्नुहुन्छ भने, म त सदैव तयार छु, तर युवाहरू पनि तयार हुनुपर्छ । म युवाहरूलाइ प्रोत्साहित गर्न चाहन्छु ।”
कार्यक्रममा उनले वैज्ञानिक अनुसन्धान, अध्ययन–अध्यापनसँगै नयाँ विकास, आविष्कार र प्रगतिका सम्भावनाबारे पनि प्रकाश पारे ।