गाजा-हमासले गाजामा ६० दिनका लागि युद्धविराम गर्न सहमति जनाएको छ। सो अवधिमा उसले दुई चरणमा आंशिक रूपमा इजरेली बन्धकहरू रिहा गर्ने बताइएको छ।
इजिप्ट र कतारको मध्यस्थता तथा यसै वर्ष अमेरिकाले अघि सारेको प्रस्तावकै आधारमा तयार भएको यो नयाँ पहलमा हमासले कुनै अतिरिक्त शर्त नराखी लिखित सहमति दिएको बीबीसीलाई स्रोतहरूले जनाएका छन्।
ताजा प्रस्तावअनुसार बाँकी ५० जना इजरेली बन्धकमध्ये करिब आधा युद्धविराम अवधिमा मुक्त हुनेछन्। बाँकीमध्ये करिब २० जना मात्र जीवित रहेको अनुमान गरिएको छ। युद्धविरामको अवधिमा स्थायी शान्तिका लागि थप वार्ता हुने सहमति पनि समावेश छ।
इजरेलले हमासको लिखित प्रतिक्रिया पाइसकेको भए पनि आधिकारिक जवाफ दिएको छैन। प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले प्रत्यक्ष सम्बोधन नगरी हमास ठूलो दबाबमा रहेको टिप्पणी गरेका छन्।
यसबीच, इजरेली सेना प्रमुखले युद्ध निर्णायक मोडमा पुगेको भन्दै गाजा सिटीमा हमासविरुद्ध आक्रमण तीव्र पारिएको बताएका छन्। ट्याङ्कहरू दक्षिणी साब्रासम्म पुगेको र विस्थापितहरू बस्ने विद्यालय तथा संयुक्त राष्ट्रसङ्घीय क्लिनिकलाई घेरेको विवरणसमेत आएका छन्।
मध्यस्थकर्ताहरूले दुवै पक्षलाई चाँडो सम्झौतामा ल्याउन दबाब बढाइरहेका छन्। कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानी समेत इजिप्ट पुगेका छन् भने हमासको वार्ताकार टोली गत सातादेखि कायरोमा छ।


विश्व खबर 



















