काठमाडौं– तातोपानी नाकामार्फत भेप (विद्युतीय चुरोट) चोरी पैठारी गरी अर्बौं राजस्व छली गरेको आरोपमा शिल्क ग्रुप प्रालिका अध्यक्ष रमेश शेर्पा सहित १२ जनाविरुद्ध जिल्ला अदालत ललितपुरमा मुद्दा दायर भएको छ ।
राजश्व अनुसन्धान विभागले १ अर्ब ७४ करोड ६२ लाख ४७ हजार बिगो र कैद सजायको मागसहित मुद्दा हालेको हो ।
विभागले २०८१ पुस २२ गते ललितपुर महालक्ष्मी–४ बाट ८६ हजार ४ सय थान भेप बरामद गरेको थियो ।
त्यसपछि गरिएको छानबिनमा शिल्क ग्रुपले अन्य सामग्रीमा समेत ठूलो परिमाणमा राजस्व छलेको प्रमाण फेला परेको विभागका सूचना अधिकारी नवराज अधिकारीले जनाए ।
अनुसन्धानका क्रममा शिल्कको बालकुमारी शाखा र नक्सालस्थित कर्पोरेट कार्यालयमा समेत छापा मारिएको थियो ।
विभागका अनुसार रमेश शेर्पा र उनका भिनाजु विजय शेर्पा चोरी पैठारीमा मुख्य संलग्न छन् ।
विजय तातोपानी नाकामै बसेर भन्सार, दलका नेता र पत्रकारसम्मलाई प्रभावमा पार्ने गरेको बताइन्छ ।
यसमा सहयोगीको भूमिकामा रहेका गोदाम सञ्चालक महेशप्रसाद पाठक र कर्मचारी सन्तोष पराजुलीलाई आधा सजाय माग गरिएको छ ।
रमेश शेर्पाको पृष्ठभूमि
सिन्धुपाल्चोक बाह्रबिसे–६ का रमेश शेर्पा सामान्य व्यापारी परिवारका हुन् ।
उनका पिता तातोपानी नाकामा मैदा, चामल, धूपजस्ता सामान व्यापार गर्थे ।
रमेश भने काठमाडौंमा पढाइ पूरा गर्दै व्यवसायतर्फ लागेका थिए ।
कोरोना लकडाउनका समयमा उनले स्थानीय प्रशासनलाई प्रभावमा पार्दै चीनबाट सुन भित्र्याएर ठूलो सम्पत्ति जोडेको निकट व्यापारीहरूको भनाइ छ ।
त्यसपछि उनले चिनियाँ र भारतीय व्यापारीसँग प्रत्यक्ष सम्बन्ध कायम गरे ।
विजय नाकामा ‘सेटिङ’ मिलाउने गर्थे भने रमेश काठमाडौंमै बसेर दलका नेता, कर्मचारी र प्रहरी प्रशासन र पत्रकारसँग सञ्जाल बनाउँथे ।
थोरै समयमै उनले अरबपति बन्न सफल भए ।
उनको सम्बन्ध कांग्रेस नेता मोहन बस्नेत र माओवादी अध्यक्ष प्रचण्डकी छोरी गंगा दाहालसँग नजिक रहेको बताइन्छ ।
साथै, चीनबाट रासायनिक मल ढुवानीको ठेक्का समेत उनैले लिँदै आएका छन् ।























