काठमाडौं– रूपन्देही–३ मा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट हुने उम्मेदवारको चयन प्रक्रिया जारी छ ।
नौ जना निवेदकहरू आज (आइतबार) क्यान्डिडेट बेन्चको छलफलमा सहभागी हुन भैरवास्थित रामादा होटलमा उपस्थित भइसकेको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए ।
उम्मेदवार हुन निवेदन दिनेसँग प्यानलमा छलफलको लागि पार्टी सह–महामन्त्री विपिन आचार्य, प्रवक्ता झा, सांसद तथा पूर्व शिक्षा मन्त्री शिशिर खनाल र सांसद प्राडा चन्दा कार्की रूपन्देहीमा छन् ।
निवेदकहरूसँग पार्टी उपसभापति तथा सांसद डा.स्वर्णिम वाग्लेले वन अन वन छलफल गर्ने झाले बताएका छन् ।
यस प्रक्रियाको उद्देश्य रास्वपाको तर्फबाट उम्मेदवारीको लागि निवेदकहरूले संविधान, देशको वर्तमान चुनौती र अवस्था, देशको राजनीतिक परिवेश, स्थानीय मुद्दा, कानुनी प्रक्रिया, संसदीय अभ्यास तथा जनचासोको विषयहरूमा जानकारी लिने बताइएको छ ।























