काठमाडौं– नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालको निवासमा विभिन्न वामपन्थी पार्टीका नेताहरूबीच राजनीतिक छलफल भएको छ ।
डल्लुस्थित उनका निवासमा आयोजित यो बैठकमा कम्युनिष्ट एकता र समसामयिक राजनीतिक परिस्थितिका विषयमा विचार–विमर्श भएको जनाइएको छ ।
छलफलमा एकीकृत समाजवादीबाट नेता खनालसँगै स्थायी कमिटी सदस्य साध्यबहादुर भण्डारी, केन्द्रीय सदस्य केदार सन्जेल र रामेश्वर श्रेष्ठ सहभागी थिए ।
वास्तविक वामपन्थी एकताका एजेन्डामा अन्य पार्टीका नेताहरू पनि सहभागी थिए ।
जसमा अखिल नेपाल कम्युनिस्ट पार्टीका नारायण शर्मा र लक्ष्मण उप्रेती, तथा क्रान्तिकारी कम्युनिष्ट पार्टीका रामबहादुर बुढा र सन्तबहादुर नेपाली रहेका थिए ।
एकीकृत समाजवादीका नेताहरूले पछिल्लो समय वामपन्थी एकतालाई बलियो बनाउन सक्रिय छलफल सञ्चालन गर्दै आएका छन् ।
यसैबीच, अध्यक्ष माधव नेपालको नेतृत्वमा माओवादी केन्द्रसहित अन्य वाम घटकहरूसँग पनि निरन्तर वार्ता भइरहेको छ ।























