काठमाडौं– प्रकाश सपुतका लागि यस वर्षको तीज गीतले पनि अपेक्षित सफलता दिलाउन सकेको छैन ।
पहिलेका दिनहरूमा उनका गीत सार्वजनिक भए लगत्तै केही घण्टामै १० लाख भ्युज पार गर्नु सामान्य कुरा हुन्थ्यो ।
तर, पछिल्ला विवाद र सामाजिक प्रतिक्रियाका कारण उनका सिर्जनाहरूको भ्युजमा समेत असर परेको देखिन्छ ।
चलचित्र ‘वसन्त’ फ्लप भएपछि निराश भएका प्रकाशले कमब्याकको संकेत स्वरूप नयाँ तीज गीत तयार पारेका थिए ।
पहिलाको चर्चित गीत ‘बदला बरिलै’को भाग दुईको रुपमा तयार भएको गीतको नाम ‘नाइँ भनेसी नाइँ’ राखिएको थियो ।
यसमा गायनका लागि एलिना चौहान र समीक्षा अधिकारीलाई ल्याइएको थियो भने अभिनयमा रेखा थापाको सहभागिता थियो ।
तर, बजारको प्रतिक्रिया अपेक्षाअनुसार रहेन ।
युट्युबमा गीत रिलिज भएको १२ दिनमा मात्रै ९ लाख ७५ हजार भ्युज पुगेको छ भने सामाजिक सञ्जालमा पनि चर्चा कम देखिएको छ ।
प्रकाशले १९ फागुन २०८१ मा गणेश पाण्डेद्वारा लिखित पुस्तक ‘केपी शर्मा ओलीः सपना, संघर्ष र संकल्प’को विमोचनमा प्रधानमन्त्री ओलीको प्रशंसा गरेपछि सामाजिक सञ्जालमा विरोध र बहिष्कार अभियान सुरु भएको थियो ।
केहीले उनलाई ‘एमालेको झोले’सम्म भन्दै आलोचना गरेका थिए ।
त्यसको केही महिनापछि रिलिज भएको फिल्म ‘वसन्त’ समेत सामाजिक सञ्जालमा विरोध र बहिष्कारका कारण फ्लप भयो ।
फिल्मको असफलता र सामाजिक विवादको प्रभावले गर्दा ठूलो आशा राखेर बजारमा ल्याएको नयाँ तीज गीतले पनि प्रकाशका लागि निराशा थपेको छ ।


विश्व खबर 




















