काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली भदौ दोस्रो सातामा चीन भ्रमणमा जाने निश्चित भएको छ ।
उनी विभिन्न देशका सरकार तथा राष्ट्र प्रमुखहरू सहभागी हुने शिखर सम्मेलनमा भाग लिन चीन जाने भएका छन् ।
उक्त सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि उपस्थित रहनेछन् ।
प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
चीनबाट फर्किएपछि प्रधानमन्त्रीले भारतको औपचारिक भ्रमण गर्ने तयारी समेत भएको छ ।
शिखर सम्मेलन आगामी अगस्ट ३१ र सेप्टेम्बर १ मा तियानजिन शहरमा आयोजना हुँदैछ ।
यसअघि सो सम्मेलनमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने विषयमा छलफल भइरहेको थियो ।
तर राष्ट्रपति नजाने भएपछि प्रधानमन्त्री ओलीको सहभागिता तय भएको हो ।
गत वर्ष प्रधानमन्त्री भएपश्चात ओलीको पहिलो विदेशी भ्रमण चीनमै भएको थियो ।
एक वर्षभित्रै हुन लागेको यो दोस्रो चीन भ्रमण हो ।
विश्व दुई ध्रुवमा विभाजित हुँदै गइरहेको वर्तमान अवस्थामा, चीनको यो सम्मेलनलाई विशेष महत्वका साथ हेरिएको छ ।























