काठमाडौं– भारतका प्रधानमन्त्री नरेन्द्र मोदी चीन जानुअघि चिनियाँ विदेशमन्त्री वाङ यी’ले भारतको भ्रमण गर्ने भएका छन् ।
प्रधानमन्त्री मोदी आगामी ३१ अगस्टदेखि १ सेप्टेम्बरसम्म चीनको तियानजिन शहरमा हुने संघाई शिखर सम्मेलन (एससीओ)मा सहभागी हुन चीन जाने तय भएको छ ।
मोदीले चीन भ्रमण गर्ने निश्चित भएसँगै चिनियाँ विदेशमन्त्री वाङले भारत भ्रमण गर्न लागेका हुन् ।
उनले भारत भ्रमण गर्ने औपचारिक मिति तय भएको छैन ।
यद्यपि, यही १८ अगस्टमा उनी भारत भ्रमणमा आउने सम्भावना रहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
वाङले भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग विशेष प्रतिनिधिस्तरको वार्ता गर्ने तयारी भएको छ ।
भारत-पाकिस्तानबीचको शत्रुतापूर्ण अवस्था र ‘अपरेसन सिन्दूर’पछि चीनबाट हुने पहिलो उच्चस्तरीय भ्रमण हुनेछ ।
भारत-पाकिस्तान युद्धका बेला पाकिस्तानले प्रयोग गरेका हतियार र ड्रोनहरू चीनबाट उपलब्ध गराइएको थियो ।
डोभाल र वाङबीचको वार्ताले द्विपक्षीय सम्बन्ध र लद्दाखमामा रहेको वर्तमान अवस्थाबारे पनि कुराकानी हुनेछ ।
वाङ यी सन् २०२२ मा युक्रेन युद्ध सुरु भएपछिको समयमा भारत आएका थिए ।
यसैबीच भारतका विदेशमन्त्री एस जयशंकर अर्को हप्ता रुसको भ्रमण गर्ने भएका छन् ।
रुसको विदेशमन्त्री सेर्गेइ लाभरोभसँग भेट गर्न २१ अगस्टमा जयशंकर रुस जान लागेका हुन् ।
भारतीय सञ्चार माध्यमले जनाएअनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सम्भावित भारत भ्रमणको तयारीस्वरूप उनी रुस जान लागेका हुन् ।


विश्व खबर 




















