काठमाडौं– झापाको सार्वजनिक जग्गा व्यक्तिको नाममा नामसारी गरी भ्रष्टाचार गरेको अभियोगमा ‘रेवतराज पुरी’ भनेर चिनिने गगन पुरीसहित ९ जनालाई विशेष अदालतले दोषी ठहर गरेको छ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले यो फैसला सुनाएको हो।
फैसला अनुसार, अरू आरोपितहरूको नाममा रहेको जग्गा जफत हुने भएको छ।
यो प्रकरण झापाको दमक नगरपालिका–१३ र १४ मा पर्ने रतुवा र दिपिनी खोलाको दोभानको उत्तरतर्फको सार्वजनिक जग्गा व्यक्तिगत नाममा नामसारी गरिएको विषयसँग सम्बन्धित हो। यसमा नापी तथा मालपोतका कर्मचारी, जग्गाधनी र बिचौलियाविरुद्ध मुद्दा दायर भएको थियो।
यसअघि विशेष अदालतले पुरीलाई सम्पत्ति शुद्धीकरण मुद्दामा पनि दोषी ठहर गरिसकेको छ।
पुरी नेकपा (माओवादी केन्द्र) का नेता हुन्।
प्रतिक्रिया दिनुहोस्























