काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलले गृहमन्त्री रमेश लेखकमाथि आक्रोश व्यक्त गरेकी छन् ।
उनले सामाजिक सञ्जालमा लामो स्टाटसमार्फत आरोप लगाएकी छन् कि गृहमन्त्रीले आफ्नो श्रीमानलाई फँसाउन न्यायालयमा प्रभाव पारेका छन् ।
निकिताका अनुसार थुनुवाले पाउने सुविधा अदालतले आदेश दिए पनि गृहमन्त्रीकै निर्देशनमा रोकिएको थियो ।
मुद्दा पेशी भइसकेको दिन न्याय परिषदमा उजुरी पुगेको र उक्त उजुरीको ड्राफ्ट गृहमन्त्रीकै कार्यकक्षमा तयार गरिएको दाबी उनले गरेकी छन् ।
उनले लेखेकी छन्, ‘उजुरीको ड्राफ्ट आफ्नै कोठामा तयार गरेर सचिवालयमा पठाउन आदेश दिँदै न्यायाधीशलाई डराउने काम किन ?’
त्यसैगरी, रुपन्देही कारागारमा श्रीमानलाई भेट्न जाँदा गृहमन्त्रीले आफ्नो संगठन र संरचना खटाएको आरोप पनि उनले लगाएकी छन् ।
उनले प्रधानन्यायाधीशलाई समेत सम्बोधन गर्दै असन्तुष्टि व्यक्त गरेकी छन् र प्रश्न गरेकी छन् ।
अब जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा अपिल गर्ने कि नगर्ने ?
निकिताले सरकार विरोधी दलका नेता विरुद्धको ‘खुल्लामखुल्ला अन्याय’ प्रति आफ्नो चिन्ता व्यक्त गरेकी छन् ।























