काठमाडौं– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाका नेता किमजोङ उनसँग फोनवार्ता गरेका छन् ।
अमेरिकाको अलास्कामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग तय भएको भेटको केही दिनअघि पुटिनले उत्तर कोरियाका सर्वोच्च नेतासँग फोनवार्ता गरेका हुन् ।
उत्तर कोरियाको सरकारी मिडियाका अनुसार, नेता किमजोङसँग फोनवार्तामा पुटिनले रुस र उत्तर कोरियाबीचको सहयोगलाई सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए)ले मंगलबार पुटिन र किमजोङले सौहार्दपूर्ण वातावरणमा फोनवार्ता गरेको बताएको छ । उनीहरूबीच भविष्यमा सहयोगलाई थप मजबुत गर्ने विषयमा छलफल भएको समाचारमा उल्लेख छ ।
केसीएनएका अनुसार, युक्रेनमा रुसको युद्धमा उत्तर कोरियाको संलग्नताको सन्दर्भमा पुटिनले कुर्स्कलाई स्वतन्त्र गराउन कोरियाली जनसेनाले खेलको भूमिकाको प्रशंसा गरेका छन् ।
जवाफमा किमजोङले उत्तर कोरियाले भविष्यमा रुसी नेतृत्वले चालेका सबै कदमलाई पूर्ण समर्थन गर्ने प्रतिबद्धता जनाएका थिए ।
अमेरिकी राष्ट्रपति ट्रम्पले शुक्रबार अलास्कामा हुने भेटमा रुसमाथि युक्रेन युद्ध अन्त्य गर्न दबाब दिने विश्वास गरिएको छ ।
रुस र उत्तर कोरियाले पछिल्ला वर्षहरूमा गहिरो सम्बन्ध बनाएका छन् । उत्तर कोरियाले युक्रेनमा रुसको सैन्य अभियानका लागि सैनिक र हतियार आपूर्ति गरिरहेको बताइएको छ ।
गत वर्ष पुटिनले उत्तर कोरियाको भ्रमण गरेका बेला दुई देशले पारस्परिक रक्षा सम्झौतामा हस्ताक्षर गरेका थिए ।
उत्तर कोरियाले गत अप्रिलमा पहिलोपटक आफ्ना सैनिकहरूको एक टोलीलाई रुसी सैनिकसँग युक्रेनको अग्रपंक्तिमा तैनाथ गरेको पुष्टि गरेको थियो । –रोयटर्स


विश्व खबर 




















