काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगको टोलीले सोमबार रूपन्देही कारागारको अनुगमन गरेको छ ।
आयोगकी आयुक्त लिली थापाको नेतृत्वमा गएको टोलीले कारागारको भौतिक अवस्था, कैदीबन्दीको संख्या र सुविधा बारे अध्ययन गरेको हो ।
अनुगमनपछि पत्रकारहरूसँग कुरा गर्दै आयुक्त थापाले कारागारमा क्षमताभन्दा निकै बढी कैदी राखिएको तथ्य फेला परेको बताइन् ।
उनले भनिन्, ‘२५० जनाको क्षमता भएको कारागारमा अहिले करिब ७०० जना कैदी छन् । यो न्यूनतम मानव अधिकार उल्लङ्घन हो । ७०० जनालाई व्यवस्थापन गर्नुभएकोमा कारागार
प्रमुखलाई धन्यवाद दिन्छु । तर, क्षमताभन्दा बढी कैदी राख्नु र व्यवस्थापन गर्न नसक्नु सरकारको कमजोरी हो ।’
आयोगले कैदीबन्दीहरूको अवस्थाबारे विस्तृत जानकारी लिएको छ ।
सोही क्रममा पत्रकारहरूले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको विषयमा प्रश्न उठाए ।
जसका बारेमा विभिन्न सञ्चारमाध्यममा फरक–फरक विवरण आएका थिए ।
थापाका अनुसार अनुगमनका क्रममा लामिछानेसँग पनि भेटघाट भएको थियो ।
‘उहाँले बाहिर हिँडडुल गर्न नपाएको, स्वच्छ हावा लिन, पत्रपत्रिका पढ्न र समाचार सुन्न पाउनुपर्ने माग गर्नुभयो,’ उनले भनिन्, ‘त्यसैगरी कानुनी सहायता लिन नपाएको, मुद्दा लड्न कानुन व्यवसायीसँग भेट गर्न नपाएको र आफ्ना कार्यकर्तासँग भेटघाट गर्न नपाएको कुरा पनि राख्नुभयो ।’
लामिछानेलाई कारागारभित्र करिब ४२० स्क्वायर फिटको छुट्टै कोठामा राखिएको छ ।
उक्त कोठामा अट्याच शौचालय भए पनि पूर्ण गारो नभएको, भुइँमा हरियो कार्पेट विच्छाइएको, दुई वटा पंखा, एउटा खाट र एउटा टेबल रहेको थापाले बताइन् ।
एसी वा कुलरबारे सोध्दा उनले ‘दुई वटा पंखा मात्रै छन्,’ भनेकी छन् । तर, रास्वपाका एक पदाधिकारीले भने कुलर भए पनि तातो हावा फाल्ने बताएका छन् ।
झ्यालमा सुरक्षाका कारण प्लाइउड राखिएको भए पनि आयोगले तत्काल हटाउन निर्देशन दिएको थापाले जानकारी दिइन् ।
कारागार प्रशासनले यसका लागि सहमति जनाएको उनले बताइन् ।
रूपन्देही कारागारको अवस्थाबारे आयोगले चाँडै आधिकारिक धारणा सार्वजनिक गर्ने जनाएको छ ।
यद्यपि कारागारमा रवि बाहेक अन्य कैदीबन्दीको अवस्थाबारे आयोगले खासै चासो दिएको देखिँदैन ,
आयुक्त थापाको अभिव्यक्तिबाट पनि यो कुरा प्रष्ट हुन्छ ।
रविमात्रै नभएर सबै कैन्दीबन्दी मानव अधिकारकै पक्ष हुन् ।























