काठमाडौं– नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले हाल पार्टी संगठनसम्बन्धी निर्णयमा पदाधिकारीहरूसँग नियमित सल्लाह लिन थालेका छन् ।
गत शुक्रबार उनले बूढानीलकण्ठस्थित निवासमा उपसभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्मासँग क्रियाशील सदस्यता नवीकरण, भ्रातृ संस्थाका अधिवेशन तयारी र रुपन्देही–३ उपनिर्वाचनबारे छलफल गरे ।
असोजभित्र क्रियाशील सदस्यता नवीकरण गर्ने समय दिइएको छ ।
तर, केही जिल्लामा विवाद भएकाले त्यसलाई केन्द्रमै बोलाएर समाधान गर्ने तयारी छ । भ्रातृ संस्थाको महाधिवेशन कार्यादेशबारे पनि बैठकमा समीक्षा भयो ।
१३ भ्रातृ संस्थामध्ये ठाकुर समाज विघटनको प्रक्रियामा रहेकाले महाधिवेशन गर्ने जिम्मेवारी दिइएको छैन ।
बाँकी सात भ्रातृ संस्थाले अझै अधिवेशन गर्न बाँकी छ ।
महिला संघ, तरुण दल, नेविसंघ, दलित संघ, किसान महासंघ, लोकतान्त्रिक खेलकुद संघ र थारू संघले हालसम्म अधिवेशन सम्पन्न गर्न सकेका छैनन् ।
केही संस्थाले भने हालै महाधिवेशन सम्पन्न गरेका छन् ।
भूतपूर्व सैनिक संघ (गर्जबहादुर गुरुङ), आदिवासी जनजाति संघ (ओमबहादुर थापा घर्तीमगर), प्रजातन्त्र सेनानी संघ (बालकृष्ण दाहाल), राष्ट्रिय लोकतान्त्रिक अपांग संघ (माधव चौलागाईं) र मुस्लिम संघ (अताबुल अन्सारी)ले अधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्व चयन गरिसकेका छन् ।
नेविसंघको ७५१ सदस्यीय तदर्थ समिति २०७८ माघमा गठन भए पनि पटक–पटक समय थपिँदा पनि महाधिवेशन हुन सकेको छैन ।
कांग्रेस कार्यसम्पादन समिति बैठकले अब २०८१ चैत मसान्तभित्र अनिवार्य महाधिवेशन गर्न निर्देशन दिएको छ ।























