काठमाडौं– थाइल्यान्ड र कम्बोडियाबीचको युद्धविरामबीच सीमामा ल्यान्डमाइन विस्फोट हुँदा तीन थाई सैनिक घाइते भएका छन् । रोयल थाई सेनाले शनिबार बिहान सिसाकेट र प्रेह विहियर प्रान्तमा भएको विस्फोटमा एक सैनिकको खुट्टा काटिएको, अर्काको ढाड र हातमा चोट लागेको र तेस्रो व्यक्तिको कानमा गम्भीर दबाब परेको जनाएको छ ।
कम्बोडियाको रक्षा मन्त्रालयले अग्रपंक्तिका बलहरूबाट विस्फोटबारे कुनै जानकारी नआएको बताएको छ । थाई सैनिक गस्तीका क्रममा ल्यान्डमाइनबाट घाइते भएको तेस्रो घटना भएको जनाइएको छ ।
थाइल्यान्ढले ल्यान्डमाइन प्रतिबन्ध सन्धिको उल्लंघन र थाई सार्वभौमिकतामाथि आक्रमण गरेको भन्दै कम्बोडियाविरुद्ध उजुरी दर्ता गर्ने घोषणा गरेको छ ।
अल्जजिराका अनुसार, दुवै देशले ओटावा सन्धिमा हस्ताक्षर गरेको उल्लेख गरेका छन् ।
कम्बोडिया र थाइल्याण्डबीच २४ जुलाईमा पाँच दिनसम्म भीषण सीमा संघर्ष भएको थियो। मलेसियाले २८ जुलाईमा मध्यस्थता गरी युद्धविराम गराएको थियो ।
कम्बोडियाली सैनिकहरूले थाई नागरिक क्षेत्रमा तोप र रकेट प्रहार गरेको आरोपमा हिंसा सुरु भएको थियो, जसको जवाफमा थाइल्याण्डले हवाई हमला गरेको थियो ।
युद्धविराम कायम भए पनि दुवै देशले एकअर्कामाथि सन्धिका सर्त उल्लंघन गरेको आरोप लगाएका छन् ।
जुलाई २८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आर्थिक दबाब र व्यापार सम्झौता नगर्ने चेतावनीपछि युद्धविराम लागु भएको थियो । –अल्जजिरा


विश्व खबर 




















