काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवक्ता ज्ञानेन्द्र शाहीले नेपाली कांग्रेस र नेकपा (एमाले)का नेताहरू सहकारी ठगीमा संलग्न भई लाखौँ बचतकर्ताको पुँजी जोखिममा पारेको आरोप लगाएका छन् ।
शुक्रबार फेसबुकमार्फत उनले गृहमन्त्री रमेश लेखकलाई ‘कांग्रेस र एमालेका सहकारी ठगहरूलाई कहिले जेल हाल्ने ?’ भनेर प्रश्न गर्दै दोषीहरू उन्मुक्ति पाइरहेको दाबी गरे ।
शाहीले पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई रुपन्देही कारागारमा राखिएको तस्वीरले नेपालको न्याय प्रणालीको गहिरो संरचनागत समस्या देखाएको उल्लेख गरे ।
उनका अनुसार कारागारहरूमा क्षमता भन्दा बढी कैदी राखिनु, आधारभूत सुविधा र अधिकारको अभाव तथा ढिलो न्याय प्रक्रियाले कैदीहरूको स्वास्थ्य र मानवअधिकारमा नकारात्मक असर पारेको छ ।
‘संविधानले प्रत्याभूति गरेको निष्पक्ष न्याय र मानवीय व्यवहार वर्तमान अवस्थामा उपहास बनेको छ,’ शाहीले लेख्दै सम्बद्ध निकायको ध्यानाकर्षण गराएका छन् ।























