काठमाडौं– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी हप्ता संयुक्त अरब इमिरेट्स (यूएई)मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट्ने सम्भावना भएको बताएका छन् ।
तर, ह्वाइट हाउसका एक अधिकारीले पुटिनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेट्न तयार भए मात्र ट्रम्प–पुटिन वार्ता हुने स्पष्ट पारेका छन् ।
अमेरिकाले रुसलाई युक्रेन युद्ध अन्त्यका लागि ठोस कदम चाल्न दबाब दिइरहेको छ ।
त्यस्तो नभए नयाँ आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएको छ । ह्वाइट हाउसका अनुसार हालसम्म भेटको समय र स्थान टुंगो लागेको छैन ।
पुटिनले जेलेन्स्कीसँग भेट्न आपत्ति नभएको तर वार्तामा ठोस नतिजा आएको खण्डमा मात्र सम्भव हुने बताएका छन् ।
युक्रेनले अमेरिका–रुस एक्लै वार्ता गर्ने हो कि भन्ने आशंका व्यक्त गर्दै युरोपेली समर्थन जुटाउने प्रयास गरिरहेको छ ।
यसअघि पुटिनका सल्लाहकार युरी उशाकोभले जेलेन्स्कीलाई ट्रम्प–पुटिन भेटमा समावेश गर्ने योजना नभएको बताए पनि ह्वाइट हाउसले यसबारे विचार गर्न सकिने संकेत दिएको छ ।


विश्व खबर 




















